काठमान्डौ फागुन १२ गते । कोरोना भाइरसका कारण इरानमा मृत्यु हुनेको संख्या आठ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितको संख्या ४३ पुगेको छ । भाइरस संक्रमितमध्ये धेरै कोम सहरका रहेका र चीनबाट आउने यात्रु हुँदै संक्रमण फैलिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानोस जहानपोरले राज्य सञ्चालित टेलिभजनलाई बताए । भाइरस नफैलियोस् भनेर कोम सहरका सम्पूर्ण विद्यालय र धार्मिक सभासम्मेलन बन्द गरिएका छन् भने अन्य क्षेत्रका मानिसलाई त्यहाँ नजान भनिएको छ ।
यसैबीच, इटालीमा कोरोना संक्रमितको संख्या सय नाघेको छ । राज्य सञ्चालित टेलिभजनका अनुसार कोरोना भाइरसबाट इटालीमा आइतबारसम्म ११५ जना संक्रमित भएका छन् । इटालीको उत्तरी क्षेत्र लम्बार्डीमा मात्रै ८९ जना संक्रमित पाइएको गभर्नर एट्टिलियो फोन्टानाले आइतबार जानकारी दिएका छन् । संक्रमितको संख्यामा वृद्धि हुन थालेपछि सरकारले देशको उत्तरी क्षेत्रका लगभग दर्जनभन्दा बढी सहर बन्द गरेको छ।
चीन, दक्षिण कोरिया, इरान र इटालीबाहेक जापानको योकोहामा तटीय क्षेत्रमा रोकिएको क्रु पानीजहाजमा ६९० भन्दा बढी कोरोना संक्रमित पुष्टि भएका छन्। आइतबारसम्म कोरोनाका कारण विश्वभर ७८ हजारभन्दा बढी संक्रमित पुष्टि हुँदा चीनकै मात्र ७६ हजार ९३६ जना संक्रमित छन् । कोरोनाका कारण हालसम्म चीनमा सबैभन्दा धेरै दुई हजार ४४२ जनाको मृत्यु भएको छ ।
सोमबार बिहानसम्म चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ हजार ४ सय ४२ जना पुगेको छ। चीन बाहिर दक्षिण कोरियामा ७, इरानमा ८, जापानमा ४, इटालीमा २, हङकङमा २, ताइवानमा १, फ्रान्समा १, फिलिपिन्समा १ गरी २ हजार ४ सय ६८ जनाको मृत्यु भएको छ। चीन बाहिर कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या २६ जनाको मृत्यु भएको छ। अहिलेसम्म विश्वभर ७९ हजार १ सय ४० जना कोरोना भाइरसबाट सक्रमित बनेका छन् भने चीनमा मात्रै ७६ हजार ९ सय ३६ जना सक्रमित बनेका छन्। कान्तीपुर बाट साभार
Discussion about this post