बाँके कोहलपुर फागुन १५ गते ।
बलिदान दिवसको अवसरमा कोहलपुर चौराहमा बुधबार साँझ दीप प्रज्वलन गरिएको छ ।
जनयुद्धका पहिलो सहिद स्व.दिलबहादुर रम्तेल लगायत सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुको सम्झनामा कोहलपुरका युवाहरूले दीप प्रज्वलन गरेर सम्झिएका छन् ।
पूर्व अनेरास्ववियूका (क्रान्तिकारी) केन्द्रीय अध्यक्ष नरेन्द्र न्यौपानेले भने-“महान जनयुद्धका सुरुवातमा शैक्षिक परिवर्तनका निम्ति स्व. दिलबहादुर रम्तेलको बलिदानले नै अहिले परिवर्तन सम्भव भएको हो ।” उनले रम्तेल जस्ता धेरैले दिएको बलिदानले आज शिक्षाका क्षेत्रमा आमूल परिवर्तन भएको स्मरण पनि गरे ।
युवा नेता तथा अनेरास्ववियूका केन्द्रिय सदस्य राजेन्द्र विष्टले कम्युनिस्ट आन्दोलनका क्रममा आफ्नो ज्यानको आहुती दिनेहरुले गर्दा नै सबै जनताहरु आफ्नो हक तथा अधिकारका लागि निर्धक्क बोल्न सक्ने भएको बताएका छन् । उनले रम्तेल ११ बर्षकै कलिलो उमेरमा जनयुद्धका लागि बलिदानी भएकाले उनको योगदानलाई हामीले कदापि बिर्सन नहुने बताए ।
उनलाई सम्झिएर हरेक बर्ष भएको दीप प्रज्वलन कार्यक्रम हुँदै आएको छ । कोहलपुरमा आयोजित बलिदान दिवस २०७६ को दीप प्रज्वलन कार्यक्रममा राष्ट्रिय युवा संगठनका केन्द्रिय सदस्य गणेश शाही, नेकपाका जिल्ला कमिटी सदस्य चक्र मिलन चन्द, नेकपा काेहलपुर नगर कमिटि सदस्य युवा नेता गीता शाही, अखिल क्रान्तिकारी बागेश्वरी क्याम्पसका इकाई महेश बस्नेत लगायतका युवाहरुको उपस्थित रहेको थियो ।
को हुन् दिलबहादुर रम्तेल
गोर्खा-सूर्यज्योति माध्यामिक विद्यालय ताकुकोटका प्रधानाध्यापक विरबहादुर गुरुङलाई हतियारसहित गएका प्रहरीको टोलीले गिरफ्तार गरी ल्याउने क्रममा गोरखा पन्द्रुङ गाविस वडा नं.-२ स्थित ब्रम्हाचारिनी निम्न माध्यामिक विद्यालयमा विद्यार्थी र प्रहरी बीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर गोरखा जिल्ला पन्द्रुङ गाविस-३ निवासी दिलबहादुर रम्तेलको ०५२ फागुन १४ गते घटनास्थालमै मृत्यु भएको थियो ।
शिक्षक गुरुङलाई गोरखा सिम्जुङ गाविसस्थित एक गैरसरकारी संस्थाको कागजात जलाएको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । जनयुद्धका पहिलो शहीदको रुपमा दिलबहादुर रम्तेललाई घोषणा गरेको छ ।
विस्मृतिमा परेका तमाम सहिदहरु लगायत विशेषतः वि.सं. २०५२ फागुन १४ गते तत्कालिन शाही सत्ताले हत्या गरेका जनयुद्धका पहिलो सहिद दिलबहादुर रम्तेल र पञ्चायती सरकारले झापा आन्दोलनका नेताहरु क. रामनाथ ढकाल, क. नेत्र घिमिरे, क. विरेनसिंह राजवंशी, क. कृष्ण कुईंकेल र क. नारायण श्रेष्ठलाई जेल सार्ने निहुँमा झापा र इलामको सिमानामा पर्ने सुखानीको जंगलमा लगेर हत्या गरेको दिन २०२९ फागुन २१ लाई सम्बोधन हुने गरी फागुन १४-२१ लाई सहिद स्मृति सप्ताहको रुपमा ब्याख्या गरेर सम्पूर्ण ज्ञात-अज्ञात अमर शहीदहरुको सम्मान र सम्झना गर्ने निर्णय लिएको छ ।
Discussion about this post