बाँके फागुन २१ गते । प्रदेश ५ सरकार, मन्त्रिपरिषदको सोमबार बसेको बैठकले प्रदेश सरकारको लगानी सम्मेलन सहित प्रदेशका १२ वटै जिल्लामा मेला महोत्सव, भेला जस्ता सार्वजानीक कार्यक्रम नगर्ने र हुन नदिने निर्णय गरेको छ ।
तर, बाँकेको नेपालगन्जमा भने सरकारको त्यो निर्णको अवज्ञा गर्दै आयोजकहरुले धमाधम मेला महोत्सव संचालन गरि रहेका छन । मंगलबार मात्र कम्प्युटर एशोसियसन बाँकेको आयोजनामा संचालित क्यान इन्फोटेक मेलाको प्रदेश ५ का सभामुख पुर्णबहादुर घर्तिले नै उद्घाटन गरेका थिए । जुन कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले भाषण समेत गरेका थिए ।
आफ्नै सरकारले गरेको निर्णय आफै उलंघन गर्दै मेला महोत्सव उद्घाटन गर्दै हिड्ने सभामुख र सरकारको निर्णय जिल्लामा अक्षरस पालना गराउनु पर्ने निकायका प्रमुख नै मेला महोत्सवमा भाषण गर्दै हिड्दा यस्ता महोत्सव आयोजना गर्ने आयोजकको मनोवल बढेको देखिन्छ ।
बुधबार मात्र नेपालगन्जमा एउटा निजी संस्थाले महोत्सवको भव्य उद्घाटन गरेको छ । उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका सदस्य कृष्ण प्रसाद श्रेष्ठले गरे ।
बाँकेका सिडिओ कुमारबहादुर खड्काले बुधबार मात्र मन्त्रालयले पठाएको मेला महोत्सव सम्मेलन आदि स्थगित गर्ने पत्र प्राप्त भएको बताए । ‘मन्त्रालयबाट आज लिखित पत्र प्राप्त भएको छ, पत्र प्राप्त भएको १५ मिनेटभित्र हामीले मेला महोत्सव स्थगितको सुचना प्रकाशित गरेका छौं । बाँकेमा अब भोलीदेखी कुनैपनि मेला महोत्सव संचालन हुदैनन् ।’ – उनले भने ।
आजदेखि शुरु भएको महोत्सवका बारेमा सोध्दा काँचुली खबरलाई उनले भने ‘सायद सुचना प्रकाशित हुनु भन्दा पहिला नै सो मेला उद्घाटन भएको हुनुपर्छ, अब भोलि देखि त्यो लगाएत कुनै पनि मेला महोत्सव हुदैनन्, आयोजकलाई हामीले मेला स्थगित गर्न जानकारी गराइसकेका छौं ।’
जिल्ला प्रशासन कार्यालय बाँकेले बुधबार मात्र मेला, महोत्सव तथा सभा सम्मेलनहरु स्थगित गर्ने बारेको सुचना जारी गरेको छ ।
सुचनामा आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट कोरोना भाइरस (COVID-19) को संक्रमणको संभावित जोखिम कम गर्नको लागि प्रदेश भित्र ठूलो जनसमुह सहभागी हुने कुनैपनि मेला महोत्सव तथा सभा सम्मेलनहरु हाल स्थगित गर्ने निर्णय भएको हुँदा सोही बमोजिम गर्न गराउन हुन भनी लेखी आएकोले तदनुरुप यस जिल्लामा संचालन हुने र भैरहेका मेला महोत्सव तथा सभा सम्मेलनहरु हाललाई स्थगित गर्न हुन भनिएको छ ।
कोरोना भाइरसको त्रासकै कारण अहिले सरकारी, गैरसरकारी, अन्तर्राष्ट्रिय समूदायका साथसाथै राजनीतिक पार्टी र संघसंस्था समेतले धमाधम सार्वजनिक कार्यक्रम रद्द गर्न थालेका छन् ।
संघीयदेखि प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णय अनुसार तमाम गतिविधिमा रोक लगाएको अवस्था हुँदाहुँदै पनि बाँकेको नेपालगन्जमा मेला, महोत्सव तथा प्रदर्शनीहरू निर्वाधरुपमा संचालन भइरहेका छन् ।
Discussion about this post