बाँके चैत ४ गते । भारतमा कोरोनाको संक्रमण बढेसँगै रोजगारीका लागि भारत गएका नेपालीहरु स्वदेश फर्किनेक्रम बढेको छ । तर भारत जानेको संख्या भने न्यून छ । भारतबाट दैनिक तीनचार सयको हाराहारीमा नेपालीहरु स्वदेश फर्किरहेका छन् । यसअघि दैनिक एक सयको हाराहारीमा नेपाल फर्किने गरेको जमुनहा प्रहरीको तथ्यांकमा उल्लेख छ । भारतमा कोरोनाको संक्रमण देखिएपछि सर्ने डरले कामका लागि भारत गएका नेपाली स्वदेश फर्किने क्रम बढेको जमुनाह प्रहरी चौकीका इन्चार्ज माधव रिजालले बताउनुभयो ।
यो समय फर्किनेभन्दा कामका लागि भारत जाने समय हो । कामका लागि भारत गएका नेपाली फर्किने क्रम बढे पनि कामका लागि भारत जाने र किनमेलका लागि सीमाबर्ती रुपैडिया जानेको संख्या भने ७० प्रतिशतले घटेको प्रहरीले जनाएको छ । किनमेलका लागि भारत जानेको संख्यामा कमी आएपछि जमुनाहा नाका सुनसान जस्तै भएको छ । नेपाल–भारत सीमा जमुनाहा नाकामा संचालनमा रहेको कोरोना भाइरस निगरानी तथा परामर्श केन्द्रमा दैनिक सरदर एक हजार ब्यक्तिको स्वास्थ्य परीक्षण हुने गरेको छ ।
Discussion about this post