बाँके चैत ४ गते । नेपालगञ्ज उपमहानगरपालिकाको छैठौं नगरसभा विभिन्न महत्वपूर्ण निर्णय गर्दै मंगलबार सम्पन्न भएको छ । नगर प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा नगरसभा सम्पन्न भएको हो । नगरसभाले शिक्षा विधेयक–२०७६ लाई स्वीकृत गरेको छ । यसैगरी सहकारी ऐन, २०७४ को प्रथम संशोधन गरेको छ । नगरसभाले नोवेल कोरोना भाईरसबाट सुरक्षित हुनको लागि आवश्यक सचेतनामुलक तथा प्रवद्र्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेको उपप्रमुख उमा थापा मगरले जानकारी दिनुभयो । नगरसभाले कोरोना विरुद्ध पुर्व तयारीका लागि आकस्मिक कोषमा रकम विनियोजन गर्ने निर्णय गरेको छ । बैठकले वडा नम्बर ६ मा क्रिकेट मैदान निर्माणका लागि सर्वदलीय र सर्वपक्षीय बैठकको निर्णयका आधारमा प्रस्तुत भएको प्रस्तावलाई अनुमोदन गरेको छ । क्रिकेट मैदानका सन्दर्भमा संयोजक सुनिल सिंह हमालले नगरसभामा जानकारी गराउनुभएको थियो ।
नगरसभाले ५ औं नगरसभाबाट स्वीकृत वडा स्तरीय कार्यक्रमको पेश भए बमोजिमको गत आवको बाँकी मौज्जात समेतको १० करोड १७ लाख २५ हजार ७०१ रुपिया र नगर स्तरीय कार्यक्रमको ५० करोड ९० लाख ४० हजार ८०३ रुपिया बजेट तथा रकमान्तरण तथा संशोधन गर्ने निर्णय गरेको छ । यसैगरी सुशासन समितिका संयोजक नरबहादुर विष्ट र विधायन समितिका संयोजक मेनका विष्टले पनि प्रतिवेदन पेश गर्नुभएको प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले जानकारी दिनुभयो ।
बैठकमा नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. राणाले नेपालगञ्ज उपमहानगरपालिकाले विकास निर्माणमा ठुलो फड्को मारेको बताउनुभयो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको जोखिमका कारण नगरसभामा आवश्यक स्वास्थ्य परीक्षण सहित संक्षिप्त रुपमा सम्पन्न गरिएको प्रबक्ता प्रमोद रिजालले जानकारी दिनुभयो । समृद्ध शहर नगरबासीको रहर भन्ने मुल नाराका साथ नगरसभा सम्पन्न भएको हो ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post