बाँके चैत ५ गते । कोरोना भाइरस कोभिड–१९ भित्रिन नदिन ५५ देशबाट प्रवेश रोक लगाएको सरकारले भारतबाट पनि अत्यावश्यकबाहेक मानवीय आवतजावतमा रोक लगाउने तयारी गरेको छ । योसँगै पश्चिम नेपालको सबैभन्दा ठूलो र व्यस्त नेपालगन्जको जमूनाह नाकाबाट मानिसहरु पनि अव आउजाउ गर्न पाउने छैनन् । सवारी साधन आउजाउमा हिंजैदेखि रोक लगाइ सकिएको छ । भारतबाट मानिसहरुमा रोकतोक गर्नेबारे भोलि निर्णय हुने सरकारका एक मन्त्रीले जानकारी दिए । कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले बुधबारमात्र युरोपसहित कोरोना प्रभावित ५५ मुलकबाट नेपाल प्रवेशमा रोक लगाएको थियो । तर, भारतबाट आउजाउ रोकिएको छैन ।
हवाई मार्गबाट औसत दैनिक १५०र२०० मानिस भारतबाट वा भारत ट्रान्जिट भएर आइरहेका छन् । तर, स्थलमार्गबाट नेपाल आउनेको संख्या बढी छ ।तेस्रो मुलुकका नागरिकलाई स्थलमार्ग भएर आउन रोक लगाए पनि रोजगारीका लागि भारत गएका नेपालीका साथै भारतीय नागरिकहरु निर्वाध रुपमा नेपाल आइरहेका छन् । उनीहरुलाई सीमा नाकामा ज्वरो मात्र नाप्ने गरिएको छ ।
साथै सीमा नाकाबाहेक चोरबाटोबाट पनि आउजाउ गर्नेहरुको संख्या ठूलो छ । पछिल्लो समय भारतमा कोरोना संक्रमितहरु भेटिन थालेकाले सरकारले सीमा नाकाहरुमा कडाइ गर्नेबारे छलफल थालेको हो । अहिलेसम्म तीन जनाको मृत्यु भएको छ भने १३७ जनामा संक्रमण भेटिएका छन् । त्यसैले सरकारले भारतबाट अत्यावश्यकबाहेक आवत–जावतमा रोक लगाउने तयारी थालेको स्रोतले बताएको छ ।
भारत सरकारले पनि नेपालसँगको सीमानाकामा कडाइ गर्ने बताइसकेको छ ।
Discussion about this post