बैशाख २ गते । कोरोना भाइरसको महामारीसँग जुधिरेहेको अमेरिकामा अर्को बज्रपात भएको छ । अमेरिकाको दक्षिणपूर्वमा आएको शक्तिशाली हावाहुरीका कारण ३० जनाभन्दा बढीको मृत्यु भएको छ। आँधीका कारण १० लाखभन्दा बढी मानिस घरबारविहीन हुनुका साथै ठाउँठाउँमा बाढी र पहिरो गएको छ ।
अलाबा राज्यमा आँधीपीडित मानिसहरु सामुदायिक आश्रयकेन्द्रमा भेला भएका र कोरानाभाइरस प्रसार रोक्न उनीहरुले मास्क लगाउनु परेको छ। आँधीबाट अलाबामा राज्यमा मात्र ११ जनाको मृत्यु भइसकेको छ। उता दक्षिणी क्यारोलिना राज्यमा नौ जनाको ज्यान गएको छ भने छिमेकी राज्य जर्जियामा आठ जनाको मृत्यु भएको छ। टेनिसी राज्यका अधिकारीहरुले राज्यमा कम्तीमा तीन जनाको मृत्यु भएको जनाएका छन्।
अर्कान्सास र उत्तरी क्यारोलिना राज्यमा रुखहरु ढलेका वा घरहरु भत्किएका कारण केही व्यक्तिको मृत्यु भएको आशंका गरिएको छ। दक्षिणी क्षेत्रका राज्यहरुका कपितय ठाउँमा शक्तिशाली चक्रवात उत्पन्न भएको र यी चक्रवातहरु पूर्वी समुद्री किनारातर्फ बढ्न थालेको देखिएको मौसम विज्ञान विभागले जनाएको छ।
यो आँधी आइतबारदेखि शुरु भएको हो। अलाबामा राज्यका गभर्नर के आइभीले कोरोना प्रसार रोक्ने उद्देश्यले लगाइएको “सामाजिक दूरी” सम्बन्धी नियम पनि हटाइदिनु भएको छ। राज्यका अस्थायी आश्रयस्थलहरुमा मानिसहरु मास्क लगाएर एकै ठाउँमा भेला भएर बस्न बाध्य भएका छन्।
अमेरिकामा कोरोनाको प्रकोप पनि त्यत्तिकै छ । अहिलेसम्म त्यहाँ कोरोनाका कारण २३ हजारको ज्यान गइसकेको छ भने झण्डै ६ लाख संक्रमित छन ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post