खोजखबर संवाददाता
बाँके साउन १२ गते । नेपालगञ्ज उपमहानगरपालिकाले निम्न तथा मध्यम परिवारका ब्यक्तिलाई ब्यवसाय संचालनका लागि डेढ करोड रुपिया बढि बिना धितो ऋण सहयोग गरेको छ । छनौंटमा परेका ब्यक्तिलाई टोल स्तरीय संस्था हुँदै वडा कार्यालयको सिफारस अनुसार बार्षिक १० प्रतिशत ब्याजदरमा बिना धितो ऋण लगानी गरिएको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाले आईतबार नगर भवनमा औपचारिक कार्यक्रम गरि साझेदारी विकास कार्यक्रम अन्तर्गत छनौंटमा परेका १६३ जनालाई प्रमुख डा. धवलशम्शेर राणा, उपमेयर उमा थापा मगर लगायत वडा अध्यक्ष, कार्यपालिका सदस्य लगायतले छनौंटमा परेका ब्यक्तिलाई चेक हस्तान्तरण गर्नुभयो । आइतबार एक करोड ३० लाख ७५ हजार रुपिया ऋण सहयोग गरिएको छ । यसअघि ३९ लाख लागतमा ६३ जनालाई ऋण प्रवाह गरिएको थियो ।
छनौंटमा परेका ब्यक्तिलाई चेक हस्तान्तरण गर्दै नगर प्रमुख डा. धवलशम्शेर राणाले गरिबीको रेखामुनी रहेका जनतालाई सहयोग गर्नु स्थानीय सरकारको जिम्मेवारी भएको बताउनु भयो । साझेदारी विकास कार्यक्रम अन्तर्गत प्रति ब्यक्ति २५ हजारदेखि दुई लाख रुपिया सम्म ऋण लगानीका लागि कार्यविधि बनाइएको छ । आइतबार २५ हजारदेखि एकलाख रुपिया सम्म ऋण सहयोग गरिएको कार्यपालिका सदस्य देउमल सुनारले बताउनुभयो ।
कार्यपालिका सदस्य कौशलकुमार धोवीको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य लगायतको सहभागिता रहेको थियो । सामाजिक विकास अधिकृत कृष्णप्रसाद जोशीका अनुसार टोल स्तरीय संस्थाको सदस्यलाई वडा कार्यालयको सिफारिसमा ऋण लगानी गर्ने गरिएको छ । जोशीले ऋण लगानी प्रक्रिया अझै सहज बनाउने बताउनुभयो ।
Discussion about this post