जावेद अन्सारी बाँके बैशाख ५ गते । कोरोना भाइरसका कारण मुलुकभरको जनजीवन कष्टकर भइरहेको छ । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले देशलाई लकडाउन गरेको तेस्रो साता पूरा भइसकेको छ । लकडाउन लम्विदा गरिखाने वर्ग ठूलो सकसमा परेका छन् । मजदूरीका लागि घर छाडेकाहरु बेखर्चि भएपछि पैदल हिडेर आ–आफ्नो घरतर्फ लागेका छन् । सञ्जिव राना नेतृत्वको ११ जनाको टोली काठमान्डौंबाट हिडेको १० दिन भयो । करिव ५ सयकिलोमिटरको पैदलयात्रापछि उनीहरु बुधवार बाँकेको कोहलपुर आइपुगेका छन् । उनीहरुलाई सुर्खेत पुग्नु छ । र, त्यसका लागि अझै सय किलोमिटरको पैदलयात्रा गर्नुछ । रातदिनको हिडाइले शरिर लर्थक्क परेको छ ।
सुर्खेतरोड जाने बाटो छेउमा रहेको पिपलको रुखमुनि झोला बिसाएर त्यही झोलामाथि टाउको अड्याएर रानाले थकाइ मेटिरहनुभएको छ । रानाका अन्य साथीहरु खाना पकाउने जोरजाम गर्दैछन् । बाटोमा खानाको समस्या नहोस् भनेर उनीहरुले कोठाबाटै बचेको चामल, दाल बोकेर आएका थिए । जहाँ दाउरा र पानीको व्यवस्था हुन्छ खाना पकाउंछन र खान्छन् ।उनीहरु मजदूरीका लागि दुई महिना अघि काठमान्डौं गएका थिए । देश लकडाउनपछि मालिकले उद्योग बन्द गरे । र, उनीहरुलाई घर जान भने । त्यसपछि उनीहरु पैदल हिडेर कोहलपुरसम्म आइपुगेका हुन् । दिनरात नभनी हिड्दै आएका उनीहरुको खुट्टा सुनिएको छ ।
यहाँसम्म त जेनतेन आइयो तर घर कसरी पुग्ने उनीहरुलाई चिन्ता छ । उनीहरु त प्रतिनिधिमूलक पात्र हुन् । उनीहरु जस्तै मजदुरी गरेर गुजारा चलाउने धेरै अहिले घर फर्किनेक्रममा छन् । लकडाउनका कारण लामो दूरी हिँडेर कटाइरहेका छन् । बाटोमा खाने बस्ने व्यवस्था छैन् । भोकभोकै हिँडिरहेका मजदुरका मन दुख्ने भोगाइ छन् । काम गर्ने कम्पनी बन्द भएपछि मजदुरी गर्नेहरु घर फर्किरहेका छन् । कैलालीका नरु मौर्य र कस्यप मौर्य काठमान्डौंबाट हिँडेको ८ दिन भयो । लकडाउनपछि घर निर्माणको काम ठेकेदारले रोकिदियो । उनीहरु फुर्सदिला भए । ठेकेदारले ज्याला पनि दिएन् ।
बस्नलाई गाहे भएपछि बरु घरै जाने निधो गरेर उनीहरु झोलीझण्डी बोकेर कैलाली लागेका छन् । सयौं किलोमिटर पैदल हिडेर आ–आफ्नो घर जाँदै गरेका मजदुर तथा विद्यार्थीहरुको पीडा । भन्छन् यस्तो पीडा पहिलो पटक भोकियो । सरकारलाई त हामी अभिभावक ठान्थ्यौ तर अभिभावकबाटै सहनै नसकिने पीडा पाइयो । सुरक्षितरुपमा घर पुग्न उनीहरुले प्रहरीले प्रशासन गुहार्दा समेत साथ नपाएको गुनासो सुनाउँछन् । यस्ता विपद्ीमा सरकारले ठोस योजना ल्याउनु पर्छ । सरकारको निर्णय पालना गर्दा नागरिकहरुले यस किसीमको दुःख पाउनु हुन्थेन् ।
जनतालाई जहाँ जुन अवस्थामा हुनुहुन्छ त्यही बस्नुस् भन्ने तर सरकारले निम्न आयस्तर भएका मानिसहरुको गास, बास र कपास व्यवस्था नगर्दा मानविय संकट देखिएको छ । यो घटनाले झन नेपालमा दुई वर्ग स्पष्ट विभाजन गरिदिएको छ । एउटा हुने खाने र अर्को हुँदा खाने । हुने खानेलाई त लकडाउनले खासै अप्ठ्यारो पारेको छैन् तर हुँदा खानेलाई भने ठूलो सकस बनाएको छ । हुँदा खानेहरु भन्छन्, भोको पेटले लकडाउन पालना गर्न गाह्रो हुँदो रहेछ । तस्बिर भिम पौडेल
Discussion about this post