प्रदेश पाँचमा एकैदिनमा दुईजनामा कोरोना पोजिटिभ
बाँके बैशाख १९ गते ।
प्रदेश पाँचका बाँके र रुपन्देही जिल्लामा दुईजनामा कोरोना भाइरस पुष्टि भएको छ । बाँकेको नेपालगन्जका ६० बर्षिय पुरुष र रुपन्देहीको कोटहीमाइ गाउँपालिकाका २५ बर्षिय युवामा कोरोना भाइरस पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ ।
नेपालगन्जको भेरी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा ६० बर्षिय पुरुषमा कोरोना पुष्टि भएपछि उनलाई सदरमुकाम नेपालगन्जदेखि १२ किलोमिटर टाढा खजुरामा स्थापना गरिएको आइसोलेन वाडमा लगिएको भेरी अस्पताल नेपालगन्जका मेसु डाक्टर प्रकाश थापाले बताउनुभयो । आज कोरोना संक्रमित पुष्टि भएका मध्ये रुपन्देहीका युवा केही दिन अघि भारतबाट आएका थिए भने नेपालगन्जमा संक्रमित पुष्टि व्यक्ति मस्जिदमा बस्दै आएका थिए ।
स्वास्थ्यकर्मीहरु संक्रमितको कन्टयाक्ट टेसिंगमा जुटेका छन् । प्रदेश पाँचका दुई जिल्लामा कोरोना संक्रमित पुष्टि भएसँगै स्थानीय प्रशासनले लकडाउनलाई कडाइ गरेको छ । बाँके प्रशासनले औषधि पसल बाहेक आजदेखि अन्य सम्पूर्ण पसल बन्द गरेको छ । नेपालगन्जको सडक पुरै सुनसान देखिएको छ ।
Discussion about this post