काठमाडौं बैशाख २१ गते ।
प्रधानमन्त्री पदको अफर पाएपछि उपाध्यक्ष बामदेव गौतम केपी शर्मा ओलीको गुटमा प्रवेश गरेका छन । शनिबारको लामो छलफलपछि बामदेव ओली गुटमा लागेका नेकपा नेताहरुले बताएका छन ।
बामदेवको प्रवेशसँगै ओली नेकपाको सचिवालयमा बहुमत जुटाउन सफल भएका छन । अर्का अध्यक्ष प्रचण्ड र माधव नेपालको गुट भने कमजोर बनेको छ ।
अध्यादेश प्रकरणपछि आन्तरिक संकटमा फसेको ओली सरकार झण्डै सत्ताबाट बाहिरिने अवस्थामा पुगेको थियो । तर लगातार बरिष्ठ नेता माधव कुमार नेपालसँग छलफल गर्दा पनि उनले नमानेपछि ओली बामदेवलाई फकाउन लागेका थिए ।
ओलीबाट आश्वासनसँगै प्रधानमन्त्री बन्ने अफर पाएपछि बामदेवले प्रचण्ड गुट छाडेका हुन । अब सचिवालयमा ओलीको गुटमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा बादल र उपाध्यक्ष बामदेव गौतमसहित ५ जना पुगेका छन ।
प्रचण्ड गुटमा माधव कुमार नेपाल, बरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ छन । बामदेव ओली गुटमा गएपछि प्रचण्ड गुट सचिवालयमा अल्पमतमा मात्रै परेको छैन ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउने चलखेल पनि कमजोर बनेको छ ।
Discussion about this post