सुरक्षाकर्मीसँगै सांसद, मन्त्री र भीआइपीलाई पनि कोरोनाको आशंका !
काठमाडौ बैशाख ३१ गते ।
नेकपा स्थायी कमिटी सदस्य भीम रावलका सुरक्षागार्डलाई कोरोना संक्रमण देखिएपछि नेकपा स्थायी कमिटी बैठक स्थगित भएको छ । बुधबार बिहान ११ बजे धुम्बाराहीमा बस्ने भनिएको बैठक भीआइपीलाई कोरोना सर्न सक्ने जोखिम भएका कारण स्थगित गरिएको नेकपाको सचिवालयले जनाएको छ ।
मंगलबार बेलुकी भक्तपुरमा दुई जनालाई संक्रमण देखिएको थियो । दुई जनामध्ये एक जना २७ वर्षीय कोरोना संक्रमित पूर्वगृहमन्त्री भीम रावलको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी हुन् । उनलाई कोरोना संक्रमण देखिएपछि रावललाई पनि जोखिम बढेको छ ।
भीआइपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई संक्रमण देखिएपछि सांसद, मन्त्री र अरुलाई पनि संक्रमण भएको हुन सक्ने भन्दै बैठक स्थगित गरिएको नेकपाका नेताहरुले बताएका छन । नेकपाको स्थायी कमिटी बैठक स्थगित गरिएको यो दोस्रो पटक हो ।
यसअघि बैशाख २५ गते बोलाइएको स्थायी कमिटी बैठक पनि तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो । नेकपामा अध्यादेश, सीमा विवाद, कोरोना रोकथाम लगायतका विषयमा विवाद बढ्दै गएपछि यसको छलफलका लागि नेताहरुले स्थायी कमिटी बैठक माग गरेका थिए ।
Discussion about this post