विष्णु अधिकारी
बर्दिया जेठ ११ गते ।
बर्दियाको एक कृषि फर्ममा आगलागी हुदा ठुलो संख्यामा खसी बाख्रा जलेर नष्ट भएको छ । गेरुवा गाउँपालिका वडा नं. ३ भगतपुरमा रहेको न्यू कालिका कृषि उपज विकास फर्ममा आगलागी हुदा सोमबार दिउसो १ सय २८ जीउ खसी बाख्रा जलेर नष्ट भएको हो ।
आगलागीबाट माउ बाख्रा ६५ जीउ, उन्नत जातको बोका २ जीउ, पाठापाठी ३१ जीउ र खसी १५ जीउ गरी जम्मा १ सय २८ जीउ खसी बाख्रा जलेर नष्ट भएको फर्मका संचालक रोशन चलाउनेले बताए । विद्युत लाईन सर्ट भई फर्ममा आगलागी हुँदा फर्म पुर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक योगेन्द्र बहादुर खड्काले बताए । आगलागीबाट फर्मको रेखदेख गर्ने १ जना ब्यक्ति सामान्य घाईते भएको प्रहरीले जानकारी गराएको छ ।
आगलागी पूर्ण रुपमा नियन्त्रणमा आइसकेको प्रहरीले बताएको छ । फर्म संचालनका लागी मेघा बैकबाट ५० लाख ऋण लिएको फर्मका संचालकले बताएका छन् । फर्ममा रहेको ५५ ओटा खसी बाख्राको विमा गरेको भएता पनि लकडाउनका कारण बाँकीको गर्न नसकेको संचालक रोशनले बताएका छन् ।
संचालकले आगलागीबाट खोर र बाख्रा समेत गरी करिब १ करोड बराबरको नोक्सनी भएको बताएका छन् ।
Discussion about this post