चितवन असार १ गते ।
पूर्वी चितवनको राप्ती नगरपालिकाका किसानले धान खेतमा आगो लगाएका छन् । राप्ती नगरपालिका–४ वेलुवामा किसान कमलप्रसाद तिवारीले २२ कठ्ठा खेतमा लगाएको धानमा आगो लगाएर जोतेका हुन् । धानमा रोग लागेर बालामा भुसमात्र बाँकी रहेपछि आगो लगाएको उनले बताए ।
‘पछिल्लो तीन दिनमा सबै धान सखाप पार्यो’ किसान तिवारीले भने, ‘झुलेको धानमा रोग लागेपछि पोकटावाहेक केही छैन, राखिरहनुको औचित्य नभएपछि जोतेको हुँ ।’ उनले जमिन ठेक्कामा लिएर खेती गरेको बताए । यति धान रोप्दा जोताईदेखि रोग लागेपछि विषादी प्रयोग गर्दासम्म ५५ हजार रुपैया खर्च गरेको तिवारीले बताए । उनले वार्षिक प्रति कठ्ठा जग्गाको २ हजार ५ सय रुपैयाँ भाडा तिर्दै आएका छन् । अघिल्लो वर्ष सोही जग्गामा ५५ क्वीन्टलसम्म धान उत्पादन गरेको बताउने तिवारीले जीवनमा नै पहिलोपटक यस्तो भएको बताए ।
उनकै साँधमा खेती गर्दै आएका वुद्धिराज खरेलको पाँच कठ्ठा जग्गामा पनि हर्दिनाथ जातको धानमा यस्तै समस्या देखिएको छ । उनले आगो लगाएर नष्ट गर्ने प्रयास गरे तर बोट हरियो भएकाले आगो लाग्न सकेन । उनले चैत १० गते धान रोपाई गरेका थिए । उनको पनि तीन दिनमै सबै सखाप भयो ।
‘धान झुल्दा राम्रो उत्पादन हुने आशा थियो’ किसान खरेलले भने ‘पाँच कठ्ठामा १६र१७ बोरा उत्पादन हुन्थ्यो, अहिले एक गेडो पनि भित्र्याउन सकिएला भन्ने आस छैन ।’ यति धान लगाउँदा ११ हजार रुपैया खर्च खरेलले सुनाए ।
वेलुवाकै किसान राधिका क्षेत्रीले धान उत्पादन नभए पनि परालका लागि भने धानको बोट काटेकी छन् । ठेक्कामा लिएर १२ कठ्ठा जमिनमा लगाएको धान नफलेपछि परालका लागि ठूलो मेसिन लगाएर काटेको उनले बताइन् ।
राप्ती वडा नम्बर–४ वेलुवा आसपासमा झण्डैं २० विघा जति धानमा यस्तै समस्या देखिएको छ । पूर्वी चितवनमा हर्दिनाथ नामक धानमा, धान झुलेपछि यस्तो समस्या देखिएको छ ।
कृषि प्राविधिकहरुले ‘नेक व्लास्ट’ रोगले धानमा क्षति पुर्याएको बताउँदै आएका छन् । प्रधानमन्त्री कृृषि आधुनिनिककरण परियोजना चितवनका प्रमुख वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमल्सिनाले पूर्वी चितवनमा लगाइएको धानको कुल क्षेत्रफलको आधा क्षेत्रमा यो रोग लागेको बताए ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post