बुटवल असार ५ गते ।
रुपन्देहीमा आफ्नै बिरामी छोरालाई जिउँदै गाडेको आरोपमा प्रहरीले बाबुलाई नियन्त्रणमा लिएको छ ।
रुपन्देहीको तिलोत्तमामा आफ्नै बाबुले ८ वर्षको छोरालाई जिउँदै गाडेको स्थानीयले आरोप लगाएका छन् ।
तिलोत्तमा–४ प्रगतिनगरमा राजु परियारले बिरामी छोरालाई मृत्यु नहुँदै बोरामा हालेर घर नजिकै झाडीमा खाल्डो खनेर गाडेको स्थानीयको आरोप रहेको प्रहरीले जनाएको छ ।
गाडिएका बच्चाको खाल्डोबाट निकालेपछि मृत्यु भइसकेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी प्रतीतसिंह राठौरले बताउनुभयो ।
छोरा बिरामी भएर बेहोस भएपछि बोरामा हालेर जमिनमा गाडेको भन्दै स्थानीयले विरोध जनाउँदै परियारलाई घेरा हालेपछि सुरक्षाका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । ज्युँदै गाडिएको हो वा मृत्यु भएपछि हो भन्ने पोष्टमार्टम रिपोर्टपछि मात्रै थाहा हुन्छ, डीएसपी राठौरले भन्नुभयो ।आरोपितलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post