बाँके असार १४ गते ।
आइतवार (आज) मुलुकभर सामान्य बदली रहेको छ र देशभर केही स्थानहरुमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले आइतवार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको जनाएको हो ।
विभागका अनुसार, आइतवार दिउँसो प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेशका र प्रदेश ५का एक–दुई स्थानहरूमा भारी वर्षाको संभावना रहेको छ ।
आइतवार राती देशको सबै प्रदेशहरूमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको विभागको भनाइ छ । आइतवार राति प्रदेश १, प्रदेश ५ तथा सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको संभावना रहेको विभागले जनाएको छ ।
यस्तै आइतवार धेरै स्थानहरूमा पानी पर्ने हुँदा नदीहरूमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले भन्दै विभागले आवश्यक सतर्कता अपनाउन अपिल गरेको छ ।
अहिले नेपालमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अहिले मुलुकभर दक्षिण–पश्चिमी दिशाबाट बहेको अरेबियन सागरबाट प्रवाहित वायुको प्रभाव रहेको छ साथै मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको विभागले जनाएको हो ।

Discussion about this post