रुपन्देही असार २१ गते ।
शान्ति र प्रेमको प्रतिक मानिने पन्छी सारससँग जोडिएको भगवान गौतम बुद्धसँगको एउटा घटना बौद्ध जगतमा निकै लोकप्रिय छ । उनका दाई देवदत्तले प्रहार गरेको वाण लागेर घाइते भएको सारसलाई उपचार गरेर सिद्धार्थ गौतमले जीवनदान दिनुभएको बताइन्छ ।
वाण हानेर खसालेका घाइते सारसमाथि आफ्नो हक लाग्ने देवदत्तले दाबी गरे तर राजकुमार सिद्धार्थले प्राण लिन खोज्नेको भन्दा प्राण बचाउनेको हक लाग्ने भन्दै घाइते सारस देवदत्तलाई दिन अस्वीकार गरे । उनीहरु दुईबीच यस विषयमा विवाद उत्पन्न भयो । विवाद बढ्दै जाँदा दुबैलाई राजा शुद्धोधनसमक्ष पु¥याइयो ।
शुद्धोधनले कुनै पनि प्राणीको प्राण लिनेभन्दा जीवन बचाउनेको हक लाग्ने फैसला गर्दै त्यस पन्छीमा सिद्धार्थ गौतमको हक लाग्ने बताएपछि विवाद मिल्यो । गौतम बुद्धको जीवनमा भएको यो निकै महत्वपूर्ण र प्रेरणादायी मानिने कथा अहिले पनि उत्तिकै सान्दर्भिक छ । बालक सिद्धार्थका पाला देखिको त्यहीँ पन्छी सारस बुद्ध जन्मस्थल लुम्बिनी र गृहनगर कपिलवस्तु आसपासमा पाइन्छन् ।
संसारका अरु क्षेत्रको तुलनामा यस क्षेत्रमा सारसको सङ्ख्या बढी छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्याङ्कअनुसार नेपालमा सारसको सङ्ख्या सात सय छ । सबैभन्दा बढी लुम्बिनीमा तीन सयभन्दा बढी सारस रहेको लुम्बिनी विकास कोषले जनाएको छ । गतवर्ष लुम्बिनीमा एकदिनमै गरिएको गणनामा एक सय १४ वटा सारस भेटिएको विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय (अवधेशकुमार त्रिपाठी) ले जानकारी दिए ।
सिमसार क्षेत्रको संरक्षणका कारण पछिल्लो समय सारसको सङ्ख्या लुम्बिनीमा अझै बढ्दै गइरहेको उनको भनाइ छ ।
लुम्बिनी र कपिलवस्तु क्षेत्रमा सारसकै अध्ययन र रहनसहन हेर्न कैयौँ पर्यटक आउने गरेका छन् । विश्वमै दुर्लभ श्रेणीको चरा मानिने सारसको संरक्षणका लागि लुम्बिनी साँस्कृतिक नगरपालिका, लुम्बिनी विकास कोष र स्थानीय युवाहरु सक्रियताका साथ लागेका छन् । लुम्बिनीको भियतनाम मन्दिर, कोरिया मन्दिर, कोषका कर्मचारी आवास क्षेत्र परिसर तथा नगरपालिकाको जोगडा, आमालगायतका क्षेत्रमा सारसहरु देख्न पाइन्छ ।
नगरपालिकाले सारसलाई लुम्बिनीको नगर पन्छी घोषणा गरेर संरक्षणको काम गरिरहेको छ । सारस संरक्षणका लागि लुम्बिनीमा सारस पार्क निर्माणको तयारी समेत गरिएको छ । यस्तै विकास कोषले सिमसार क्षेत्रहरुको संरक्षण र विकास गरिरहेको छ । गतवर्ष विश्व वन्यजन्तु कोष र अन्तरराष्ट्रिय क्रेन फाउण्डेशनसँगको सहयोगमा चारवटा सिमसार क्षेत्र निर्माण गरिएको र थप एक सिमसार क्षेत्र निर्माणको क्रममा रहेको कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले बताए ।
उनकाअनुसार गतवर्ष खनिएका सिमसार क्षेत्रमा अहिले ६ जोडी सारस बसिरहेका छन् ।
विकास कोषभित्र सारसका लागि उपयुक्त स्थान छुट्याइएको छ । विश्व शान्ति स्तूपा रहेको उत्तरतर्फको भागलाई सारस संरक्षण क्षेत्र तोकिएको हो । यहाँ कैयौँ जोडी सारस भेटिन्छन् । सारसको संरक्षण गरी पर्यटनसँग जोड्ने प्रयास भइरहेको कोषले जनाएको छ । ‘पर्यटकको बसाइ अवधि लम्ब्याउन सारस क्षेत्र शान्ति स्तुपा परिसरमा दुई किलोमिटर पैदलमार्ग र अध्ययन गर्न चाहनेहरुलाई वातावरणीय सिकाइ केन्द्र निर्माण गर्ने योजना बनाएका छौँ ।
जहाँ सारसको महत्व र संरक्षणबारे जानकारी गराइने छ’, उपाध्यक्ष मेत्तेयले भने । पहिले तराई क्षेत्रमा प्रशस्त पाइने काला नमक धान सारसलाई मन पर्ने खेती हो । अहिले यो खेती हुन छाडेको छ । यो खेतीप्रति किसानलाई आकर्षित गर्ने उद्देश्यले विकास कोषले योजना बनाइरहेको जनाएको छ । विकास कोष बाहिर सारसको संरक्षणका लागि लुम्बिनी साँस्कृतिक नगरपालिकाले वडा नं. २ को भुजहिया स्थित १६ बिघा क्षेत्रमा फैलिएको नौखनिया ताललाई सिमसार क्षेत्र बनाउने तयारी गरेको छ ।
जसका लागि बजेटको व्यवस्था समेत गरिएको नगरपालिकाका प्रमुख मनमोहन चौधरीले बताए । सारसको संरक्षणका लागि स्थानीय युवाहरु पनि सक्रिय भएर लागेका छन् । अन्तक्रिया, गोष्ठी तथा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी स्थानीयवासीलाई वातावरण संरक्षणका लागि सचेत बनाउने काम गरिरहेको ग्रीन युथ क्लब लुम्बिनीका अध्यक्ष अर्जुन कुर्मी बताउँछन् । वातावरण तथा सारसको संरक्षणका लागि समुदाय स्तरमा चेतना जगाउन ग्रीन युथ क्लबले लुम्बिनी क्षेत्रमा ३० वटा क्लब गठन गरेको छ ।
क्लबका युवाहरुलाई लुम्बिनी साँस्कृतिक नगरपालिका र विकास कोषसँग समन्वय गरेर वातावरणको संरक्षण, स्वास्थ्य सरसफाइ, सारसको महत्वबारे तालिम दिएर समुदायमा परिचालन गरिएको अध्यक्ष कुर्मीले बताए । ग्रीन युथ क्लबले विश्व वन्यजन्तु कोषसँगको सहयोगमा लुम्बिनी क्षेत्रमा पर्यावरण संरक्षणको काम गर्दै आएको छ । पर्यावरको संरक्षणले गर्दा लुम्बिनी क्षेत्रमा चराचुरुङ्गीको सङ्ख्या निकै बढेको छ ।
Discussion about this post