काठमाडौं असार २३ गते ।
पशुपति क्षेत्रमा प्रवेश गर्न पशुपति क्षेत्र विकास कोषले कलात्मक द्वार निर्माण गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मंगलबार बिहान उक्त प्रवेशद्वारको उद्घाटन गरेका हुन् ।
द्वारको दायाँबायाँ सिंहको आकृति छ । कोषले एसबीआई बैंकको लगानीमा सुमार्गी भवनछेउमा निर्माण गरेको उक्त द्वार यस्तो कलाकृतिमा पहिलो हो । मन्त्री भट्टराईले कोरोना संक्रमणका बीच पनि सरकारले आन्तरिक तथा बाह्य पर्यटकलाई आवतजावतमा सहज वातावरण बनाउन सरकार प्रयासरत रहेको बताए ।
कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले बैंकले करिब तीन करोड रुपैयाँ लगानीमा उक्त द्वार निर्माण गरेर कोषलाई हस्तान्तरण गरेको जानकारी दिए । साही अवसरमा बैंकले कोषलाई मन्दिरपरिसर सरसफाईका लागि ब्रुमरको साँचो हस्तान्तरण गरेको थियो ।
उद्घाटनअघि मन्त्री भट्टराईले कैलाश उमाकुण्डमा वृक्षरोपण गरेका थिए । कोषका सदस्यसचिव डा. प्रदीप ढकाल, कोषाध्यक्ष थापा, कार्यकारी निर्देशक डा. घनश्याम खतिवडालगायतले रुद्राक्ष, कपुर, बेलपत्र, स्वामी, वर, पिपल, धुपी लगायतका दुई सय विरुवा रोपका थिए । सदस्यसचिव ढकालले कैलाशलाई विगतकै स्वरूपमा फर्काइने जानकारी दिए ।
Discussion about this post