खोजखबर संवाददाता
बाँके भदौ ७ गते । नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रले आफ्ना कर्मचारीहरुलाई एक कार्यक्रमबीच सम्मान गरेको छ।
आफ्नो ३४ औँ वार्षिकोत्सवको अवसरमा नेपालगन्ज क्षेत्रीय कार्यालय अन्तरगत कोहलपुर वितरण केन्द्र उत्कृष्ट घोषित भएपछि वितरण केन्द्रले आफ्ना कर्मचारीहरुको सम्मान गरेको हो।
उक्त उपलब्धि हासिलमा कृयाशील आफ्ना सबै कर्मचारीहरुको योगदानको उच्च मुल्यांकन गर्दै वितरण केन्द्रका तर्फबाट वितरण केन्द्र प्रमुख जगन्नाथ लामिछानेले अबिर लेपनसहित खादा ओढाएर सो सम्मान गर्नुभएको थियो। शनिबार बाँकेको ढकेरीमा एक बनभोजको आयोजनाबीच आफ्ना कर्मचारीहरुको सो सम्मान गरिएको थियो।
कोहलपुर वितरण केन्द्रले आर्थिक वर्ष २०७५/७६ मा विद्युत चुहावट नियन्त्रणका लागि ११.३९ तोकिएको लक्ष्यभन्दा बढी प्रगती गर्दै ९.४५ प्रतिशतमा झार्न सफल भएको तथा विभिन्न मापदण्ड सुचकहरुमा पनि उल्लेखनीय प्रगती गरेकोले यस वर्ष सो वितरण केन्द्र नेपालगन्ज क्षेत्रमा उत्कृष्ट भएको जनाइएकोछ।
नेविप्राको ३४ औँ वार्षिकोत्सवका अवसरमा गत भाद्र ०१ गते उर्जा , जलस्रोत तथा सिचाइ मन्त्री वर्षमान पुनले उत्कृष्ट कार्यालयको घोषणासहित कार्यालयका तर्फबाट वितरण केन्द्र प्रमुख लामिछानेलाई एक कदर पत्र प्रदान गर्नुभएको थियो। बाँकेको नेपालगन्ज वितरण केन्द्रबाट विभाजन हुँदै गत २०७४ जेठबाट औपचारिक कामकाज थाल्दै नयाँ वितरणका रुपमा स्थापित कोहलपुर वितरण केन्द्रले आफ्नो स्थापनाको २ वर्षमै सो उपलब्धि प्राप्ति गरेको जनाइएकोछ।
कार्यक्रममा वितरण केन्द्र प्रमुखको सफल नेतृत्व तथा कर्मचारीहरुको अथक सहकार्यकै प्रतिफल भएको लेखाप्रमुख द्रोण केसीले बताउनुभयो।कार्यक्रममा नेविप्रा,नेपाल क्षेत्रीय कार्यालय, विभिन्न वितरण केन्द्रका प्रमुख, कोहलपुर सब-स्टेशनलगायतको विशेष सहभागिता रहेको थियो।कार्यक्रमको संचालन प्रशासन प्रमुख नवराज भट्टले गर्नुभएको थियो।
Discussion about this post