काठमाडौं असार २६ गते ।
युवा ज्योतिष अर्जुन थापा क्षेत्री पक्राउ परेका छन् । उनी पक्राउ पर्नुको कारण भने अनौठो छ । उनलाई पहिले भूकम्प आउँदै छ भन्दै सर्वसाधारणमा डर त्रास फैलाएको आरोपमा प्रहरीले पक्रेर छोडेको थियो । यसपटक भने उनी अख्तियारको फन्दामा परेका हुन् । क्षेत्रीसहित ३ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले बिहीबार पक्राउ गरेको हो ।
आफूलाई युवा ज्योतिष दाबी गर्ने क्षत्रीले यस पटक भने आफूलाई ‘अख्तियारको सहसचिव’ भन्दै ठगी गर्दै हिँडेको प्रहरीले बतायो । उनलाई यसै आरोपमा क्षेत्रीलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको अख्तियार स्रोतले जानकारी दिएको छ । क्षेत्रीले चार जनाको समुह बनाइ नेपाल विद्युत प्राधिकरणले खरिद गरेको जग्गामा घोटाला भयो भन्दै चार करोड कमिसन मागेका थिए ।
बार्गेनिङको क्रममा ५० लाखमा कुरा मिलेको र उक्त ५० लाख रुपैयाँ लिन जाँदा क्षत्रीसहित तीनजना अख्तियारको फन्दामा परेका हुन् । भोजपुरको जरायोटार स्थायी घर भएका थापाले काठमाडौंको सिनामगंलमा काशि विश्वनाथ रत्न प्राली नामक ज्योतिष हेर्ने संस्था चलाउँदै आएका थिए। थापाले आफुले ज्योतिष शास्त्रमा मास्टर्स गरिरहेको र भारतको भोलागिरी आश्रमबाट आचार्य गरेको दाबी गर्ने गरेका छन्।
थापाले आफ्नै नामको ज्योतिष अर्जुन क्षेत्री नामक युट्युब च्यानलमा अब देशमा ठुलो महाविपत्ती, महाभुकम्प,रक्तपात हुँदै छ शीर्षक राखेर भिडियो अपलोड गरेका थिए ।
थापासँग विभिन्न सन्दर्मा लिइएका अन्तर्वार्ता पनि विभिन्न युट्युव च्यानलहरुमा छ्यापछ्याप्ती भेटिन्छन्।
Discussion about this post