काठमाडौं साउन १ गते ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक यातायात सञ्चालनका लागि सरकारले आफ्नो सामर्थ्यले सकेसम्म सहयोग गर्ने बताएका छन्।
प्रधानमन्त्री ओलीले कोरोना भाइरसको महामारीपछि दैनिक जीवन, अर्थतन्त्र, सेवा र रोजगारीसम्बन्धी सबै क्षेत्र प्रभावित भएको बताउँदै सार्वजनिक यातायात सञ्चालन गर्न यस क्षेत्रका समस्या समाधान गर्न पहल गर्ने बताएका हुन्।
कोभिड– १९ को महामारी पश्चात् यातायात सञ्चालनमा देखिएका समस्याबारे ज्ञापनपत्र बुझाउन पुगेको यातायात व्यवसायी र मजदुर संगठनका नेताहरुको प्रतिनिधि मण्डलसँग बिहीबार कुरा गर्दै प्रधानमन्त्री ओलीले महामारीका कारण प्रभावित भएका सवै क्षेत्रका समस्या राज्यले हेर्नुपर्ने भएकाले आफ्नो सामर्थ्यअनुरूप समाधानमा अग्रसर रहने बताएका हुन्।
मन्त्री ओलीले भने,‘कोभिड–१९ को महामारीपछि सबै क्षेत्र प्रभावित भएका छन्। जनताको दैनिक जीविका, विकास, अर्थतन्त्र र सेवा, सबै क्षेत्रमा यसको प्रभाव छ। सबै क्षेत्रका समस्या सरकारले समाधान गरिदिए हुन्थ्यो भन्ने परिरहेको छ, यस्तो स्वाभाविक पनि हो। सार्वजनिक यातायात सञ्चालन गर्न के कस्तो सहयोग गर्न सकिन्छ, सरकारले पहल गर्नेछ।’
विश्वभर कोरोना महामारीको संकट आएपछि सरकारको आर्थिक हैसियतमा पनि ह्रास आएको उनको भनाइ छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुर संगठनका प्रतिनिधिहरूले प्रधानमन्त्री ओलीसँग भेट गरी आफ्ना समस्या प्रस्तुत गरेका थिए।
Discussion about this post