खोजखबर संवाददाता
बाँके असार ८ गते । शनिवार रातिदेखि परेको अविरल बर्षाका कारण बाँकेको नरैनापुर गाउँपालिकाका भारतीय सीमावर्ती गाउँहरु डुवानमा परेका छन् । दक्षिणतर्फ सीमामा भारतले बाँधजस्तो सडक बनाएका कारण पानीको सहज निकास नहुँदा सीमावर्ती अधिकांश गाउँ डुबानमा परेको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो ।
बनियाँ गाउँ, महतनियाँ, मझेरटी, मियाँपुर्वा, घोरदौरिया, महादेवनगर, कोटिहा, बहावपुर्वा, रोशनपुर्वालगायतका गाउँका अधिकांश घर डुबानमा परेका छन् । सय भन्दा बढी घर डुबेको र झण्डै १ दर्जन घर भत्किएको अध्यक्ष शाहले जानकारी दिनुभयो । निर्माणाधीन हुलाकी राजमार्गमा पनि पानीले क्षति पुर्याएको छ ।
पुल, कल्भर्ट बनाइएका ठाउँमा पानीले बाटोको दुबैतिर कटान गरेको अध्यक्ष शाहले बताउनुभयो । अविरल बर्षापछि खहरे खोलामा आएको बाढी र आकाशे पानी घरहरुमा पसेको इलाका प्रहरी कार्यालय भोजभगवानपुरका प्रमुख प्रहरी निरीक्षक विरेन्द्रबीर विश्वकर्माले जानकारी दिनुभयो ।
गाउँपालिकाको वडा नम्बर १ कट्कुइँयास्थित वडा कार्यालयमा समेत पानी पसेको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताउनुभयो । घरहरुमा पानी पसेपछि गाउँपालिका अध्यक्ष शाह नेतृत्वको टोली उद्धारमा खटिएको छ ।
Discussion about this post