बाँके साउन २२ गते ।
देशभरको मौसम बिहीबार आंशिकदेखि सामान्य बदली भइ केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मनसुनी न्यून चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ रहेकाले केही कमजोर जस्तो भए पनि मनसुनी गतिविधि सक्रिय नै रहेको मौसमविदको भनाई छ ।
अहिले देशभर आंशिकदेखि सामान्य बदली भएको छ । गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।दिउँसो देशभर सामान्य बदली रही गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थान मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले बताएका छन् ।
प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।यस्तै राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । प्रदेश १, बागमती, गण्डकी र प्रदेश ५ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताए ।देशका विभिन्न नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा आग्रह पनि गरेको छ ।
Discussion about this post