काठमाडौं साउन २२ गते ।
प्रदेश नम्बर २ का एकजना मन्त्री र एक जना महिला प्रदेशसभा सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवमा कोरोना सक्रमण पुष्टि भएको हो । बुधबार साँझ आएको रिपोर्टमा आफूमा कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।
गत साउन १८ गते काठमाडौंबाट फर्केर १९ गते स्वाब संकलन गराउँदा उनको रिपोर्ट पोजेटिभ आएको उनले बताए । साथै, उनले आफूमा संक्रमण पुष्टि भएपनि डराउन पर्ने आवश्यकता नरहेको बताए । उनले आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परिक्षण गराउन सबैसँग अपिल गरेका छन्।
उनी अहिले मन्त्रालयको निवासमै क्वारेन्टिनमा बसेका छन् ।त्यस्तै जसपाका प्रदेश सभाकी सदस्यमा पनि बुधवार बेलुका रिपोर्ट आएसँँग कोरोना संक्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जानकारी दिएको छ । प्रदेश नम्बर २ मा ५ हजार २ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोनाको कारण २१ जनाको ज्यान गइसकेको छ ।
Discussion about this post