सरला सुबेदी
बाँके साउन २४ गते ।
कोहलपुर नगरपालिका वडा नं.१० मा घर नम्बर टास्ने काम शनिबारदेखि सुरु गरिएको छ । जनतासँग जनप्रतिनिधि कार्यक्रमलाई निरन्तरता दिन र अझै प्रभावकारी बनाउने उद्देश्य स्वरुप कार्यक्रम सुरु गरिएको वडा अध्यक्ष निम बहादुर चलाउने ’निरज’ले बताएका छन् ।
विद्युत टोलबाट घर नम्बर टास्ने कामको सुरुवात गर्दै उनले भने,(’स्थानीय सरकारको काम र सेवालाई सजिलो, छिटो छरितो कार्यान्वयन गर्न घर नम्बर टाँस्ने काम सुरु गरेका छौं । यसले सूचना लगायतका कुराहरुलाई आगामी दिनमा अझै प्रभावकारी रुपमा बढ्न सहज हुनेछ ।’ उनले कुनै पनि तथ्यांक संकलन गर्न, कुनै पनि काम गर्न लगायतमा घर नम्बरले सजिलो हुने बताएका छन् । वडा अध्यक्ष चलाउनेले वडामा रहेका १ हजार ७ सय ५१ घरधुरीमा घर नम्बर टाँस्ने बताएका छन् ।
जनतासँग जनप्रतिनिधी अभियान अन्तरगत शनिवारदेखि पहिलो पटक १ नं. टोल विकास समिति अन्तरगत ३७ घरमा घरधुरी नं. सहितको नम्वरप्लेट टाँस गरिएको छ । वडामा रहेका १७ सय ५१ नै घरधुरीमा नै घर नंम्वर टाँस गरिने र आइतवारदेखि सबै घर धुरीमा घर नम्वर टाँस गर्ने अभियानलाई निरन्तरता दिइने वडाध्यक्ष चलाउनले जानकारी दिए ।
घर नम्वर टाँस भएपछि घरधनीको पहिचान सहजै पत्ता लाग्ने र यसका लागि पहिले वडावासीहरुको सम्पूर्ण विवरण एवम् तथ्यांक संकलन भइसकेको वडा कार्यालयले जनाएको छ ।
नगरक्षेत्रमा नै पहिलोपटक १० नम्वर वडाले यो अभियान थालनी गरेपछि नम्वरका आधारमा वडाभरमा रहेका व्यक्ति तथा घरधनीको वास्तविक ठेगाना एवम् स्थान वाहिरवाट आउने आगन्तुकहरुका लागि सहज हुने वडा सदस्य ओम प्रकाश वर्णवालले बताए ।
उनले वडामा गठन भएका ५ वटा टोल विकास समितिको सहकार्यमा घर नम्बर टाँस्ने काम सुरु गरिएको बताएका छन्
वडा नं. १० ले केही दिन अघि दोस्रो वडा प्रोफाइल निर्माण गरेर सार्वजनिक समेत गरिसकेको छ ।
Discussion about this post