अनुशासित बनौँ, अटेरी होइन किनकी अनुशासित बने कोरोनालाई सजिलै जित्न सकिन्छ अटेर गरे कोरोनाको महामारीमा फसिन्छ
सरला सुबेदी, कोहलपुर
बाँके भदौं १ गते ।
साच्चै हामिले कहिले पनि सोचेका थिएनौ होला आज यसरी मान्छेदेखी मान्छे डराएर टाढा हुनु पर्छ भनेर कस्तो दिन आयो मान्छे सङ्ग मान्छे डराएर एकलकाटे भएर बस्नु परेको छ । अझै अनुशासनमा नरहहे झन जटिल दिन आउन सक्नेछ।
कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारी सिङ्गो मानवजातिकै लागि ठूलो चुनौती बनिरहेको छ । यस भाइरसको संक्रमणले भौगोलिक सीमा, जातजाति, वर्ग र धर्म नभनी सबैलाई कायल बनाएको छ ।
हालसम्म विश्वभर दुई करोड १० लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने सात लाख ५७ हजार बढीले ज्यान गुमाइसकेको स्थिति छ । आठ महिनाअघि चीनको वुहान सहरमा देखा परेको यस भाइरसको संक्रमण घट्नुको साटो झनै व्यापक बन्दै गइरहेको छ । दैनिक औसत दुई लाख ८० हजार मानिस संक्रमित भइरहेका छन् भने दैनिक सात हजार मानिसले ज्यान गुमाएका छन् । यसबाट के प्रस्ट हुन्छ भने कोरोना भाइरसको संक्रमण विश्वको कुनै भागमा अस्तित्वमा रहुञ्जेल यसले दुःख दिइरहने छ । नेपालमा पनि पछिल्लो समय कोरोना संक्रमण समुदायस्तरमा फैलिँदै गएको छ ।
काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा दैनिक सयौँको संख्यामा संक्रमित थपिनुले पनि कोरोना समुदायमा फैलिसकेको प्रमाणित हुन्छ । सुरूवाती चरणमा विदेशबाट आएका र क्वारेन्टाइनमा रहेकाहरुमा संक्रमण देखिँदै आए पनि अहिले दर्जनौँ घनाबस्तीहरुमा संक्रमणको दर बढ्नुले थप सङ्कटको स्थिति आउन सक्ने पूर्वाभास हुन थालेको छ ।
हाम्रोजस्तो साधनस्रोत कमजोर भएको मुलुकले कोरोना महामारी थेग्न सक्दैन । हामीले गर्न सक्ने भनेकै संक्रमण थप फैलिन नपाओस् भनेर पूर्वसतर्कता अपनाउनेमात्र हो ।
सरकारले क्वारेन्टाइनकै व्यवस्थापनमा ध्यान दिन सकेन । फलस्वरुप, क्वारेन्टाइनबाट सम्पर्कविहीन भएका संक्रमितहरुको हालसम्म पनि पहिचान हुन सकिरहेको छैन । सरकारले संक्रमितलाई व्यवस्थित आइसोलेसनमा राखेर रोगमुक्त हुन र संक्रमण समुदायमा फैलन रोक्ने उपाय अवलम्बन गर्न नसक्दा संक्रमण दर बढ्दै गएको छ ।
पछिल्लो समय अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, उद्योगी–व्यापारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, मन्त्री, सांसद्, जनप्रतिनिधि, सरकारी निकायका कर्मचारी तथा सर्वसाधारण कोही पनि सुरक्षित देखिएका छैनन् । चार महिना लामो लकडाउन खुलेयता कोरोना नै अन्त्य भएजसरी मानिसहरुको अनावश्यक भीडभाड र भेटघाट तीव्र भयो । यसमा राजनीतिक दलदेखि सर्वसाधारणसम्म कसैले पनि न्यूनतम सावधानी अपनाएनन् ।
त्यसमाथि सार्वजनिक यातायात खुलेसँगै न सीमा नाकामा कडाइ गरियो न संक्रमित क्षेत्रबाट आउनेहरुकै निगरानी । यस विषम परिस्थितिमा हामी सबै एकजुट भएर कोरोनाविरूद्ध लड्नुपर्नेमा यस भाइरससँग दिनहुँ निहुँ खोज्दै हिँडिरहेका छौँ । कोरोना कहरले बहुआयामिक क्षेत्रमा प्रभाव पारिसकेको यथार्थलाई बुझेर पनि बुझपचाउँदा कोरोना व्यापक हुँदै गएको छ ।
स्थानीय प्रशासनले बिनाकाम घरबाहिर ननिस्कन, निस्कनै परे मास्क र स्यानिटाइजरको अनिवार्य प्रयोग गर्न, बजारमा किनमेल गर्दा अनिवार्य सामाजिक दूरी कायम राख्न, अनावश्यक भीडभाड नगर्न पटकपटक सूचना जारी गर्दै आएको छ ।
त्यसबाहेक प्रहरीले सार्वजनिक स्थलमा मास्कको प्रयोग नगर्नेलाई जरिवाना गर्ने, होटल तथा किराना पसल समयमै बन्द गर्न लगाउनेजस्ता कारबाही गर्दै आएको छ । तर, सर्वसाधारणले ती सबै सावधानीका उपाय प्रहरी स्वयंकै लागि जस्तो गरेर अटेरी गर्दै आएका छन् । मास्क चिउँडोमा लगाउने वा हातमा बाँध्ने, सामाजिक दूरीको पर्वाह नगर्ने, भीडभाड गर्ने, लुकीछिपी भोजभतेर र पार्टीमा रमाउने गतिविधि भइरहेका छन् ।
नागरिकको सुरक्षा गर्ने पहिलो जिम्मेवारी राज्यको भए पनि यस सङ्कटबाट जोगिन नागरिकको अनुशासन अझै बढी महत्त्वपूर्ण हुन आउँछ । महामारीको समयमा पनि अनुशासनमा नबस्ने र सरकारको निर्देशन पालना नगर्ने हो भने पक्कै पनि समाज र देशले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ । यसर्थ, कोरोनाको सम्भावित जोखिमलाई ध्यान दिएर सबै आआफ्नो क्षेत्रमा अनुशासित र जिम्मेवार बन्नैपर्छ ।
कुनै पनि बहानामा संक्रमण फैलाउने छूट कसैलाई छैन । रोग लागेपछि उपचारमा हुने समस्या र ज्यानै जान सक्ने जोखिमलाई मध्यनजर गर्दै सबैले आफ्नो बानीव्यवहारमा सुधार गरौँ, अटेरी नबनौँ, रोगसँग खेलाँची नगरौँ । हामिले अनुशासित भएर साबधानी अपनाए चाडै कोरोनाबाट मुक्ति पाउनेछौ । कोरोनाले सबैलाई पिरोलेको छ यसले कसैलाई काखा कसैलाई पाखा गरेको छैन त्यसैले हामिले कोरोना सङ्ग लढ्न अनुशासित बन्नै पर्छ तब मात्र कोरोनालाई परास्त गर्न सकिन्छ।
Discussion about this post