खोजखबर संवाददाता
बाँके भदौ १६ गते । छाडा गाईका कारण कोहलपुरमा आइतवार राती गम्भीर दुर्घटना भएको छ । सडकमा रहेको छाडा गाई सग ठोक्किएर फोर्स गाडी दुर्घटनामा परेको छ। सुर्खेतबाट नेपालगन्ज आउँदै गरेको भे १ ख २४०९ को फोर्स गाडीले कोहलपुरको न्यू रोडमा आइतवार राती ११ बजे गाईलाई बचाउन खोज्दा सडक किनारामा राखिएको ठेलालाई ठक्कर दिदै पुनः गाईलाई ठक्कर दिएर पल्टिएको थियो। गाईलाई ठक्कर दिएर अनियन्त्रित भएको फोर्स गाडी बाटोमै पल्टिंदा सो दुर्घटना भएको थियो। फोर्स गाडीको ठक्करबाट गाईको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ। दुर्घटनामा परि गाडी चालक बर्दिया बाँसगढि ३ का ४९ बर्षका भिम बहादुर देबकोटा घाइते भइ कोहलपुर अस्पतालमा उपचारका लागि भर्ना गरिएका छन्। दुर्घटनाग्रस्त गाडीमा चालक मात्रै सवार रहेकोले अन्य मानवीय क्षति हुनबाट जोगिएको ट्राफिक कार्यालय कोहलपुरले जनाएको छ । पछिल्लो समयमा आएर बाँकेका विभिन्न स्थानमा छाडा गाई र अन्य पशु चौपायाका कारण दिनहुँजसो दुर्घटनाहरु हुँदै आएका छन् । भारतबाट भित्रिएका छाडा पशु चौपायाले गर्दा नेपालगन्जमा ट्राफिक व्यवस्थापनमा ठुलो समस्या थपिएको छ ।
Discussion about this post