काठमाडौं भदौ १७ गते ।
काठमाडौंको नागार्जुन नगरपालिका वडा नं ६ का वडाअध्यक्ष राजेन्द्र बुढाथोकीलाई कोरोना संक्रमण पुष्टि भएको छ। बुढाथोकीलाई कोरोना पुष्टि भएपछि नगरपालिकाले सूचना जारी गरी वडाध्यक्षसँग सम्पर्कमा आएका नगरवासीलाई होम क्वारेन्टिनमा बस्न अनुरोध गरेको छ।
उनको १४ गते पीसीआर रिपोर्ट नेगेटिभ आएको र १६ गते फेरि रिपोर्ट पोजेटिभ आएको नगरपलिकाले जनाएको छ। नागार्जुन नगरपालिका वडा नं ६ मा अवस्थित फिटवेल गार्मेन्टले यही भदौ १६ गते (मंगलबार) रक्तदान कार्यक्रम आयोजना गरेको थियो। सो कार्यक्रममा वडाध्यक्ष बुढाथोकीसहित नगरपालिकाका जनप्रतिनिधिहरु पनि सहभागी थिए।
नगरपालिकाका अनुसार कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको काममा खटिँदै आएका वडाअध्यक्ष बुढाथोकी अहिले होम आइसोलेसनमा बसेका छन्। साथै नगरपालिका प्रमुख मोहनबहादुर बस्नेत पनि होम क्वारेन्टिनमा बसेका छन्। बस्नेत वडाअध्यक्ष बुढाथोकीसँगै मोटरसाइकल चढेर रक्तदान र बाटो समितिको बैठकमा सहभागी हुन गएका थिए।
Discussion about this post