बाँके भदौ १८ गते ।
भेरी अस्पताल नेपालगन्जले कोरोना संक्रमणबाट निको भएकाहरुलाई रक्तदान गर्न आव्हान गरेको छ । कोरोना संक्रमणबाट गम्भीर विरामी भएकाहरुलाइ प्लाज्मा थेरापीबाट उपचार गरेर उनीहरुको ज्यान जोगाउन सकिने भएकाले संक्रमण भएर निको भएकाहरुलाई रक्तदान गरेर सहयोग गर्न आव्हान गरेको हो ।
संक्रमणबाट निको भएकाहरुको ब्लड कलेक्सनका लागि समन्वय गर्दै आएका भेरी अस्पतालका स्वास्थ्यकर्मी होमनाथ सुवेदीले प्लाज्मा थेरापीका लागि संक्रमणबाट निको भएकाहरुकै ब्लड आवश्यक पर्ने भएकाले मानवीय सहयोगका निमित्त उनीहरुलाई रक्तदान गर्न आव्हान गरिएको बताउनुभयो । कोरोना भाइरस संक्रमण पुष्टि भएको २८ दिन पछि रक्तदान गर्न सकिने उहाँको भनाइ छ । संक्रमणबाट निको भएकाहरुको एन्डिबडी बनिसकेपछि रक्तदान गर्न सक्ने भन्दै उहाँले २८ दिन पछि र तीन महिनाभित्र इच्छुक व्यक्तिले रक्तदान गर्न सक्ने उहाँको भनाइ छ ।
बाँकेमा अहिलेसम्म तीनजनाले रक्तदान गरिसक्नु भएको छ । कोरोना संक्रमणबाट निको भएका १८ बर्षदेखि ५० बर्ष उमेर समूहका व्यक्तिहरुले रक्तदान गर्न सक्ने छन् । संक्रमण भएको १४ दिन आइसोलेसनमै बस्नु पर्ने र त्यहाँबाट फर्किसकेपछि थप कम्तिमा १२ देखि १४ दिनसम्म भाइरससँग लड्ने एन्टिबडी बन्न समय लाग्ने चिकित्सकहरु बताउँछन् ।
Discussion about this post