काठमाडौं भदौ २७ गते ।
थानकोट नाका हुँदै काठमाडौं उपत्यकामा दैनिक हजारौँ सवारीसाधन ओहोरदोहोर गर्छन्। उपत्यकाको जीवनमार्ग पनि भनिने यो सडक निकै घुमाउरो र साँघुरो हुँदा आवागमन गर्न लामो समय लाग्ने र दुर्घटना हुने गरेको छ।
उपत्यका प्रवेश गर्ने बिन्दुमै कायम रहेको यो समस्या हटाउन अहिले थानकोट-नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग निर्माण सुरू भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष कार्तिक २४ गते नै करिब २ किलोमिटर ७ सय मिटर लम्बाई रहने यो सुरुङमार्ग निर्माण शिलान्यास गरेका थिए। तर मुआब्जा विवाद र विस्फोटक पदार्थ व्यवस्थापनमा समय लागेकाले शिलान्यास भएको १० महिनापछि सुरुङमार्ग निर्माण थालिएको हो।
अहिले सुरुङका दुवै प्रवेश बिन्दुबाट निर्माण थालिएको छ। १२ मिटर चौडाई र ८ मिटर उचाई रहने सुरुङ एक वर्षभित्र खनिसक्ने लक्ष्य राखिएको छ। उपत्यकाबाट बाहिरिँदा यो सुरुङ नागढुङ्गाको सिस्नेखोलाबाट सुरु हुनेछ भने बस्नेतछापमा पुगेर साविककै सडकमा जोडिनेछ।
यहाँ सुरुङ निर्माण गर्न जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले करिब १६ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण उपलब्ध गराउनेछ। नेपाल सरकारले पनि करिब ६ अर्ब रुपैयाँ खर्च गर्नेछ। यो सुरुङमार्गलाई सरकारले मुलुककै स्वप्न परियोजना (ड्रिम प्रोजेक्ट) उपमा दिएको छ।
Discussion about this post