काठमाडौं भदौ ३१ गते ।
सर्वोच्च अदालतले मुख्तियार भीमसेन थापाका भाई रणवीरसिंह थापा (स्वामी अभयानन्द) को काठमाडौं, लगनस्थित पुरातात्विक महत्वको घर (शिलखाना) नभत्काउन आदेश दिएको छ । न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले २०० वर्ष पुरानो शिलखाना नभत्काउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । आदेशमा विपक्षीलाई बाटाको म्यादबाहेक १५ दिनभित्र प्रमाण भए प्रमाणसहित उपस्थित हुन भनिएको छ ।
जनहित संरक्षण मञ्चका तर्फबाट वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा र राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानका कोषाध्यक्ष सुशीलविक्रम थापाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, काठमाडौं महानगरपालिका, प्रधान सेनापतिको कार्यालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र काठमाडौं महानगरपालिका २१ नम्बर वडा कार्यालयलाई विपक्षी बनाएर रिट दर्ता गरेका थिए ।
सर्वोच्चको आदेशमा ‘पेशी तोकिएको अवधिसम्मका लागि निवेदनमा सिलखाना क्षेत्रमा कुनै किसिमको निर्माणकार्य लगायत स्वरुप बिगार्ने, भग्नावशेष हटाउने कार्यसमेत नगरी सुरक्षित राख्नुरराख्न लगाउनू’ भनिएको छ । सर्वोच्चले यो रिटमा आगामी ८ असोजका लागि पेशी तोकेको छ । निवेदकको तर्फबाट बहस गरेकामध्ये एक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी काठमाडौं महानगरपालिकाले लगनपार्क बनाउने नाममा ऐतिहासिक र पुरातात्विक महत्वको भवन नाश पार्न खोजेको बताउँछन् । भवनमा रहेको विश्वरुपको भित्तेचित्रमा उल्लेखित मिति अनुसार यो संरचना वि.सं. १८७६ मा निर्माण भएको हो ।
यसलाई सुनको मलम्बा लगाएको र छ वटा गजुर भएको नेपालकै पहिलो महल मानिन्छ । २३ मंसिर २०४४ मा यो महल नेपाल सरकारको नाममा दर्ता भएको थियो । त्यसयता यसको प्रयोग र संरक्षण नेपाली सेनाले गरेको छ । यसलाई २०७२ सालको महाभूकम्पले भत्काएको थियो । राजा प्रताप मल्लका छोरा चक्रबर्देन्द्र मल्लको शिलालेख जडान भएको चैत्य यही महलमा सुरक्षित रहेको छ ।
त्यहाँ रहेका विश्वरुप लगायत दुर्लभ चित्रहरू भने भवन पुर्निनिर्माणपछि जडान गर्ने उद्देश्यले राष्ट्रिय संग्रालयमा सुरक्षित राखिएको भीमसेन थापाका प्रतिष्ठानका पदाधिकारीहरू बताउँछन् । पुरातत्व विभागले महानगरपालिकालाई १९ जेठ २०७७ मा पुरानो जगलाई असर नपर्ने गरी निर्माण कार्य गर्न स्वीकृति दिएको देखिन्छ । यसरी निर्माण कार्य गर्दा भवनको मौलिकता नास हुने निवेदकहरूको भनाई छ ।
निवेदनमा भनिएको छ, ‘जमिनमुनि यदि जग सुरक्षित नै राखे पनि सो जग मात्रले शिलखानाको अस्तित्व बोक्न सक्दैन र सो निर्णय प्राचीन स्मारक संरक्षण ऐन र संरक्षणको सर्वमान्य सिद्धान्त र जिर्णोद्वारको सिद्धान्त विपरीत र स्वेच्छाचारी छ ।’
Discussion about this post