एजेन्सी काठमाडौं १ गते ।
संयुक्त राज्य अमेरिकाका १६ औं राष्ट्रपति अब्राहम लिंकनको कपालको टुक्रा ८१ हजार अमेरिकी डलर (९५ लाख रुपैयाँ)मा बिक्री भएको छ । लिंकनको रगतमा लतपतिएको एक टेलिग्राम पत्रसँगै रहेको उनको कपालको टुक्राको झुप्पो झण्डै ९५ लाख रुपैयाँमा लिलामी भएको हो ।
सन् १८६५ मा हत्या गरिएका लिंकनको शवको पोष्टमार्टका क्रममा काटेर निकालिएको उक्त कपालको झण्डै २ इन्च लामा टुक्राहरुको सानो मुठासँगै उनको हत्याका विषयमै लेखिएको टेलिग्राम पत्रको बोस्टोनमा हालै लिलामी गरिएको थियो । लिंकनको कपाल कसले किन्यो भन्ने चाहिँ खुलाइएको छैन ।
लिंकनको पोष्टमार्टमपछि उनको टाउकोबाट निकालिएका कपाल लिंकन पत्नी म्यारी टोड लिंकनका भतिजा डाक्टर लिम्यान बीचर टोडलाई दिइएको थियो । आफूलाई दिइएको लिंकनको कपाललाई बेर्नका लागि तत्कालै केही थिएन उनीसँग । त्यसपछि उनले आफ्नो गोजीमा रहेको एक टेलिग्राम पत्र निकालेर कपाललाई त्यसमै राखेर पोको पारे । लिंकनको हत्या लगत्तै युद्ध विभागले पठाएको टेलिग्राम पत्र थियो त्यो ।
उनले रगत तथा दिमागको तरल पदार्थ समेत लतपतिएको कपाल सोही कागजमा बेरे र त्यसमा पेन्सिलले ‘हेयर अफ लिंकन’ भनेर लेखे । टोडका छोरा जेम्स ए टोडले सन् १९४५ को एक पत्रमा सो कपाल तथा टेलिग्रामका बारेमा वर्णन गरेका छन् । उनले लेखेका छन्, ‘यो कपाल अब्राहम लिंकनको हो ।
उनको टाउकोबाट काटिएको उक्त कपाल पोष्टमार्टमका क्रममा मेरा बुवालाई दिइएको थियो । जुन त्यसयता मेरो परिवारको पूर्ण संरक्षणमा रहेको छ ।’
Discussion about this post