बाजुरा असोज २ गते ।
सुदूरपश्चिमको विकट पहाडी जिल्ला बाजुरामा खाद्यान्नसहित दैनिक उपभोग्य बस्तुको अभाव चर्किएको छ। गएको असार अन्तिममा आएको बाढीले सडक र पुलपुलेसा बगाएपछि यातायात नचल्दा सदरमुकाम मार्तडी र कोल्टी क्षेत्रमा खाद्यान्न र उपभोग्य सामाग्रीको अभाव चर्किएको हो ।
बााढीले ठाउँठाउँमा राजमार्ग भत्काउनुका साथै पुलपुलेसा बगाएपछि दुई महिनादेखि सदरमुकामसँगको यातायात सम्पर्क टुटेको छ । ढुवानी हुन नसक्दा खाद्यान्न र दैनिक उपभोग्य बस्तुको अभाव भएको छ भने भएको उपभोग्य बस्तुको मूल्य पनि छोइसक्नु नभएको उपभोक्ताहरुको गुनासो छ ।खाद्य संस्थानमा रहेको मौज्दात सकिएपछि चामलको झनै अभाव भएको बुढीगंगा नगरपालिकाका प्रमुख दिपकबिक्रम शाहले बताउनुभयो ।
राजमार्ग सुचारु नभए दसै र तिहारजस्ता ठूला पर्वमा भोकमरी नै सिर्जना हुने उहाँको भनाइ छ । बाजुरामा खाद्य संस्थानले अनुदानको चामल विक्री गर्दै आएको छ । तर खाद्य संस्थानको धनगढीस्थित गोदाममा पर्याप्त खाद्यान्न मौज्दात भएपनि बाढी र पहिरो सडक बगाएपछि अहिले सडकमार्गबाट बाजुरामा खाद्यान्न पठाउने अवस्था नरहेको खाद्य व्यवस्था कम्पनी लिमिटेड सुदूरपश्चिम प्रदेशका प्रमुख अनिल श्रेष्ठले बताउनुभयो ।
बाढी र पहिरोले लामोसमय सम्म यातायात अवरुद्ध हुँदा समेत यस्को मर्मतका लागि कसैको ध्यान जान सकेको छैन् । बाढीले बगाएको सडक र पुलपुलेसाको पुनःनिर्माण आफ्नो बलबुता भन्दा बाहिर भएको भन्दै स्थानीय जनप्रतिनिधिहरुले प्रदेश र केन्द्र सरकारलाई दसै अघि नै काम थालिदिन आग्रह गरेका छन् ।
Discussion about this post