बाँके असोज ७ गते ।
नेपालगन्जमा यसपाली रामलीला नहुने भएको छ । प्रत्येक वर्ष विजयादशमीका अवसरमा नेपालगन्जको रामलीला मैदानमा हुँदै आएको रामलीला मञ्चन यसपाली कोरोना संक्रमणको विषम परिस्थितीलाई मध्यनजर गर्दै स्थगीत गर्ने निर्णय गरिएको हो । नेपालगञ्ज १३ बाँकेबगीयामा घटस्थापनाका दिनदेखी रामलीला हुने गर्दथ्यो ।
१ सय ५३ औं वर्ष प्रवेश गरिरहेको ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीलालाई यसपाली सार्वजनिक रुपमा नमनाइएपनि प्रतिकात्मक स्वरुप सोही स्थानमा पुजा पाठ भने गरीने भएको हो । रामलीला सञ्चालक समितिका कार्यवाहक अध्यक्ष सन्तोष कुमार कनोडीयाको अध्यक्षतामा मंगलबार बसेको साधारण सभा बैठकले स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै सो निर्णय गरेको हो ।
संरक्षक जैनेन्द्र कुमार टण्डन लगायतको उपस्थितीको सभा वैठकले रामलीला सञ्चालक समितिको पुनर्गठन गर्दै उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष सन्तोष कुमार कनोडीयालाई अध्यक्षमा मनोनीत गरेको छ । अध्यक्ष श्याम सुन्दर कनोडीयाको केही दिन अघि मात्र निधन भएपछि उपाध्यक्ष कनोडीयालाई सो पदमा चयन गरिएको हो ।
सभाले विषमपरिस्थितीबीच अन्य कार्यक्रम सञ्चालन बारे आवश्यक अध्यन गर्न सात सदस्यीय कार्यदल समेत गठन गरेको छ । कार्यदलले सात दिनभित्र रामलीला मञ्चन बाहेकको कार्यक्रम स्वरुप र सञ्चालन प्रक्रिया बारे राय प्रस्तुत गर्ने सञ्चालक समितिका महामन्त्री जगदिश प्रसाद वैश्यले जानकारी दिनु भयो ।
विष्णुलाल कुमालको संयोजकत्वमा गठीत कायर्यदलमा आनन्द बहादुर कर्माचार्य, नन्दलाल वैश्य, भरत किशोर वैश्य, सुरेन्द्र कुमार वैश्य, रमेश चन्द्र प्रजापति र प्रभाकर भटराई सदस्य रहनु भएको छ । सभाले वैंक खाता सञ्चालन, शोक प्रस्ताव लगायतका निर्णय गरेको छ ।
Discussion about this post