काठमाडौँ असोज ७ गते ।
काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा मंगलबार रातभरि लगातार जस्तो पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।देशभर नै सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा पानी परेको मौसमविद शान्ति कँडेलले जानकारी दिएकी छन् ।उनले भनेकी छन्, ‘देशका अधिकांश स्थानमा पानी पर्ने र रोकिने क्रम रातभर नै चलेको हो । अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भयो ।
केही स्थानमा ठूलो पानी समेत गरेको छ ।’उनले अघि भनिन्, ‘न्यून चापीय क्षेत्रको प्रभावका कारण देशभरकै मौसम बदली भएको छ । भारतको छत्तिसगडको उत्तरी क्षेत्रमा रहेको न्यून चापीय क्षेत्र अहिले पश्चिम–उत्तरपश्चिम तर्फ सरिरहेको छ र नेपाल नजिक आउने क्रममा छ । सोही कारण मौसम बदली भइ पानी परेको हो ।’अहिले देशभर नै सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको उनले जानकारी दिएकी छन् ।
बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सबै प्रदेशका थोरै–थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक–दुई स्थानमा धेरै ठूलो पानी पर्ने सम्भावना समेत रहेको मौसमविदले बताएका छन् ।
राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।राति प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एक–दुई स्थानमा ठूलो पानी पर्ने भएकाले सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।आउँदो शुक्रबारसम्म नै मौसम यस्तै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
Discussion about this post