बाँके असोज ८ गते ।
नेपालगन्ज नाकामा ठूलो संख्यामा नेपालीहरु अलपत्र परेका छन् । भारतबाट आउने र जाने नागरिकहरुका कारण नाकामा तनाव हुने गरेको छ । नेपालीहरु आधारकार्ड देखाएर धमाधम भारत गइरहेका छन् । भारतबाट आउने नेपालीहरुलाई पनि आउन दिने गरिएको छ । तर पहुँच र पावर नभएकाहरु भने टनटलापुरे घाम र पानीमा रुझ्दै नाकामा बस्नु पर्ने अवस्था छ । भारत र नेपालबीच रोजीरोटी देखि चेलीबेटीसम्मको सम्वन्ध छ ।
पारिका चेलीहरुको नेपालमा विहेवारी भएको छ भने नेपालका चेलीको भारतमा विहे भएको छ । ती चेलबेटीहरु आउजाउमा प्रहरी बाधक बन्ने गरेको छ । नेपालमा विहे भएका चेलीहरु भारत जान खोज्दा आधार कार्ड माग्ने गरिएको छ । आधार कार्ड नभएकालाई जान दिने गरिएको छैन् । तर पावर भएकाहरु भने निर्वाध गइरहेका स्रोतले बतायो । नेपाल माइती भएका चेलीहरु आउन पाएका छैनन् ।
उनीहरु नाकामा अलपत्र परेका छन् । छोराछोरी बोकेर यताउता गरिरहेको दृष्यले मन खिन्न बनाउने नाकामा भेटिएकाहरु बताउँछन् । खासगरी नाकामा महिला तथा बालबालिकाहरुको कम्ता विजोग भएको छ । भारतबाट आउने भन्दा पनि जानेको संख्या धेरै छ । दैनिक दुई ढाईसय बढीको संख्यामा आउजाउ गर्ने गरेको जमुनाह नाकाका इन्चार्ज विष्णु गिरीले बताउनुभयो । उहाँका अनुसार, नेपाल आउनेलाई नेपाली नागरिकता अनिवार्य गरिएको छ भने भारत जानेलाई आधार कार्ड अनिवार्य गरिएको छ ।
भारतमा कोरोनाका कारण आर्थिक क्षेत्र ठप्प भएपछि रोग र भोकसँग जोगिन नेपाल फर्किएका नेपाली भारतमा लकडाउनको अन्त्य हुँदै आर्थिक क्षेत्र सञ्चालनमा आएपछि रोजगारीका लागि फेरी भारत फर्किने नेपालीहरुको समेत लर्को लाग्दा नाकामा भीडभाड बढी देखिएको छ । यतिबेला रोजगारीकै लागि फेरी भारत नै फर्कनेहरूमा उही व्यक्ति, उही पीडा अनि उही कोरोनाको र भोकको त्रास छ ।
उ बेला रोगको पीडा थियो , रोजगारी गुमेको पीडा थियो अनि परिवारको मायाले स्वदेश फर्कन बाध्य पारेको थियो अहिले कोरोनाको त्रास त छदै छ तर परिवार पाल्नुपर्ने बाध्यता, नेपालमा रोजगारी नपाइएको तितो यथार्थले फेरी भारत नै फर्किन बाध्य हुनुपरेको उनीहरू बताउँछन् ।
Discussion about this post