बाँके असोज १२ गते ।
पछिल्लो समयमा बाँके जिल्लामा दिनानुदिन कोरोना संक्रमितहरुको संख्या उल्लेख्य वृद्धि भइरहेको छ । लकडाउन खुलेसङ्गै होटेल, रेष्टुरेन्ट, यातायात लगायतका बजार क्षेत्र खुलेसङ्गै कोरोना संक्रमण पनि उल्लेख्य रुपले वृद्धि भइरहेको हो ।
सोमबार मात्रै बाँकेमा ३९ जना नयाँ कोरोना भाइरसका संक्रमितहरु थपिएका छन ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार सोमबार बाँकेका विभिन्न स्थानका १३ महिला र २६ पुरुष गरी ३९ जनामा कोरोना संक्रमण देखिएको हो ।
श्रेष्ठका अनुसार भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा १४ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालामा गरिएको परिक्षणमा २४ जना र बागेश्वरी डाइग्नोष्टिकको प्रयोगशालामा गरिएको परिक्षणमा १ गरी ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सङ्गै बाँकेमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार ८ सय ६० पुगेको छ । जसमध्ये, १३ जना संक्रमितको ज्यान गइसकेको छ भने १ हजार ४ सय ६३ संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन । आज थपिएका संक्रमितसमेत जिल्लामा ३ सय ८४ जना सक्रिय संक्रमित रहेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
त्यसैगरी, आजै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालामा गरिएको परिक्षणमा बझाङका एक, दाङका दुई, बर्दियाका एक र सुर्खेतका एक गरी पाँच जनामा समेत कोरोना पुष्टि भएको छ ।
Discussion about this post