धनगढी असोज १५ गते।
धनगढीसंग जोडिएको गौरीफन्टा नाका बिहान ६ बजेदेखि राति ८ बजेसम्म खुल्ने भएको छ । कञ्चनपुरको मातहतमा गएको भदौ ११ गतेदेखि बिहान १० देखि ५ बजेसम्म खुला गर्ने गरिएको गौरीफन्टा नाका अब मंगलवार राति १२ बजेदेखि लागु हुने गरी बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म खोल्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।
मालबाहक साधनका लागि बिहान १० बजेदेखि ५ बजेसम्मको समय पर्याप्त नभएको र उक्त समयसीमाले भारतबाट सामान भित्र्याउदा लागत र समय बृद्धि भएको भन्दै व्यवसायीहरुले नाका खुल्ने समयसीमा बढाउन प्रदेश सरकारसंग आग्रह गरेका थिए । कैलाली उद्योग बाणिज्य संघको पहलमा सोमवार सोही सुदुर पश्चिम् प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाह, मन्त्रालयका सचिब, सहसचिव, कैलाली र कंचनपुरका प्रमुख जिल्ला अधिकारीहरु, कैलाली भन्सार प्रमुखसंग कैलाली उद्योग बाणिज्य संघले छलफल भएको थियो ।
संघका अध्यक्ष पुष्कराज कुँवर, बरिष्ठ उपाध्यक्ष पुष्कर राज ओझा, पूर्व अध्यक्ष दिनेशराज भण्डारी लगायतका संघका पदाधिकारीहरुले गौरीफन्टा नाकामा सहज रुपमा मालबाहक गाडीहरु निर्बाध रुपमा आउन जान पाउनुपर्ने, आम जनताहरुको आवगमन सहज हुनुपर्ने ,भारतीय दक्ष कामदारलाई स्वास्थका मापदण्ड पुरा गरी आउन दिई उद्योग व्यवसाय सन्चालन गर्ने वातावरण बनाउन प्रदेश सरकारसंग आग्रह गरेका थिए ।
संघको आग्रहपछि आन्तरिक मामिला मन्त्री शाहको निर्देशनमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मंगलवार राति १२ बजेदेखि लागु हुने गरी गौरीफन्टा नाका बिहान ६ बजेदेखि राति८ बजेसम्म खुलागर्ने निर्णय गरेको छ।
Discussion about this post