जावेद अन्सारी
बाँके असोज १७ गते ।
नेपाल भारत सीमानाका जमुनाह नाकामा कोरोनाको उच्च जाखिम देखिएको छ । मानिसहरुको अस्वभाविक भिडभाड र सामाजिक दुरीको समेत पूर्णपालना नहुँदा नाकामा भाइरसको जोखिम बढि देखिएको हो ।
भारतबाट आउने र जाने मानिसहरुको सहज व्यवस्थापन नहुँदा भाइरसको जोखिम बढेको हो । ठूलो संख्यामा नेपालबाट औषधि लिन भारतको रुपैडियादेखि लखनउसम्म मानिसहरु जाने गरेका छन् । ती मानिसहरु औषधि लिएर फर्किने गर्छन् । यसैबेला भारतमा रोजगारीमा रहेका नेपालीहरु र नेपालमा आफन्त भएकाहरु पनि जमुनाह नाका भएर नेपाल भित्रिने गरेका छन् । ती सबै मानिसहरु नाकामा घुलमिल हुने गरेका छन् ।जस्का कारण भाइरस संक्रमणको जोखिम उच्च देखिएको छ ।
कुनै बेला हेल्थ डेस्क सन्चालन गरेर नाकाबाट भित्रिनेलाई तापमापन गरेरमात्र नेपाल प्रवेश गर्न दिने गरिएको थियो । अहिले हेल्थडेस्क बन्द भइसक्यो । सुरक्षाकर्मीहरुमात्र नाकामा छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीले लामो समयसम्म नाकामा मानिसहरु रोकेर राख्दा घुलमिल बढी हुने र त्यसले जोखिम झन बढाउने विज्ञहरु बताउँछन् । तर योक्रम नाकामा चलिरहेको छ ।
दिनभरी घाममा उभिएर साँझ परेपछि मात्र नाका प्रवेश गर्न दिने गरेकाले नागरिकहरुले पनि अनावश्यक दुःख पाएका छन् । भीडभाड नियन्त्रण र व्यवस्थापनमा प्रहरीलाई पनि टाउको दुखाइ छ ।
पहुँच भएकाहरु भने पावर लाएर नेपाल प्रवेश गरिहाल्छन् तर पावर नहुनेहरु भने दिनभर नाकापारी बसेर वारी आउने प्रतिक्षा गरिरहेका हुन्छन् ।
नाकामा पुग्दा यस्तो लाग्छ कोरोना नै छैन् । हुन पनि त्यस्तै देखिन्छ । भएको हेल्थडेस्क बन्द गरेर त्यहाँबाट स्वास्थ्यकर्मी हटाइसकिएको छ । नाकाको सुरक्षा देखि कोरोना रोकथाम गर्ने पनि प्रहरीकै ठेक्का जस्तै भएको छ । कम्तिमा हेल्थडेस्क राखिुन पथ्र्यो । स्वास्थ्यकर्मीलाई खटाएर भारतबाट नेपाल आउनेको स्वास्थ्य चेकजाँच गरिनु पथ्र्यो । जुनबेला कोरोनाको संक्रमण नै थिएन त्यतीबेला नाकामा टेन्ट राखियो ।
स्यानिटाइजर र मास्क प्रयोग गर्न सिडियो देखि एसपी र जनप्रतिनिधि दैनिकरुपमा नाका पुग्थे । जव कोरोनाको संक्रमण फैलिदै गयो अहिले न सिडिओको ध्यान त्यहाँ पुगेको छ न त एसपी । न कुनै जनप्रतिनिधि त्यहाँ पुग्छन् ।
बरु आफ्ना मान्छेहरुलाई सीमा कटाउन नाका धाउने गरेका छन् । सुरुसुरुमा भारतबाट भित्रिने गाडीहरुलाई स्यानिटाइज गरेरमात्र भित्र्याउने गरिएको थियो । अहिले त्यो पनि बन्द छ । बाँकेका सिडियोको ध्यान अहिलेसम्म नाकाबाट हुन सक्ने कोरोना भाइरसको जोखिम रोकथाम कसरी गर्नेबारे पुग्नै सकेको छैन् ।
भारत अहिले कोरोनाबाट प्रभावित विश्वको दोस्रो देशमा पर्छ । त्यहाँबाट आउने नागरिकहरुको खै स्वास्थ्य जाँच ? खै क्वारेन्टिनमा राखेको ? खै नाकामा भीडभाड नियन्त्रण गरेको ? एकजना स्थानीय भन्दै थिए कि नाका खोल्नु पर्यो कि नाका पूर्णरुपमा ठप्प पार्नु पर्यो ?
Discussion about this post