डोटी कात्तिक ५ गते ।
जताततै दशैँको चहलपहल बढीरहेका बेला डोटी जिल्लाका कृषकहरु भटमास र बेथेको भारी बोकेर यहाँको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजार धाउन थालेका छन् । गाउँमा आफूले फलाएका भटमास र बेथे ढिके नुनसँग साट्नका लागि किसानहरु दिनहुँ यहाँका प्रमुख बजारहरुमा धाउने गरेका हुन् ।
यहाँका बजारमा गाउँबाट आएका किसानले प्रतिकिलो भटमाससँग तीन किलो ढिके नुन तथा बेथेसँग अढाई किलो ढिके नुन साट्न थालेका छन् । जिल्लाका किसानले धान भित्र्याइ सकेपछि अहिले भटमास बिक्री गर्ने होडबाजी नै चलेको आदर्श गाउँपालिका मौवाका स्थानीय तीलक ओझाले बताउनुभयो ।
‘यो वर्ष गाउँमा भटमास र बेथे धेरै उत्पादन भएको छ’ उहाँले भन्नुभयो, ‘किसानलाई बिक्री गर्न तथा नुनसँग साट्न भ्याइ नभ्याइ भएको छ ।’ किसानले आफूले उत्पादन गरेको भटमास तथा बेथे बिक्रीका लागि यहाँका प्रमुख बजार दिपायल, पिपल्ला, सिलगढी, बिपीनगर, मौवा, सुवाखान लगायतका ठाउँमा धाउने गरेका छन् । किसानले भटमास नगदमा बिक्री गर्ने भन्दा पनि ढिके नुनसँग साट्ने गरेको नुन साट्दै आएका दिपायल पिपल्लामा रहेको घटाल ट्रेडर्स एण्ड सप्लायर्सका व्यापारी वीक्रमबहादुर साउँदले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘ग्राहकहरु नगद भन्दा पनि नुनसँग सामान साट्न राम्रो मान्ने भएकाले पनि हामी वस्तु विनिमय गरिरहेका छौँ, साट्ने र हामीलाई राम्रै भएको छ ।’ अहिले यहाँका नौ वटै स्थानीय तहका अधिकांश गाउँँका कृषक भटमाससँग ढिके नुन साट्न व्यापारीकहाँ धाउन थालेका छन् । भटमास उत्पादन गर्ने किसान दैनिकजसो ठूलो मात्रामा भटमास लिएर ढिके नुनसँग साट्न आउँछन् र त्यसको साटो ढिके नुन लगेर फर्किने गर्छन् ।
भटमाससँग किसानले ढिके नुन साट्न थालेपछि यहाँका बजारमा अहिले भटमास सङ्कलकहरुले ठाउँ–ठाउँमा ढिके नुन सहितका तराजु राखेर बसेको देख्न पाइन्छ । यहाँका किसानले वर्षायाममा सबैभन्दा बढी भटमास, बेथे, कोदो तथा अन्य दलहन बाली लगाउँदै आएका छन् । भटमास र बेथे प्रायः अन्य जङ्गली जनावरले नोक्सान नगर्ने भएका कारण पनि जिल्लामा सबैभन्दा बढी उत्पादन हुने गरेको जिल्ला कृषि समन्वय एकाइ कार्यालयको तथ्याङ्कले जनाएको छ ।
यहाँका ग्रामिण क्षेत्रमा आयोडिनयुक्त नुनभन्दा पनि ढिके नुन बढी प्रयोग हुने भएका कारण किसान भटमाससँग ढिके नुन साट्न आकर्षित हुने गरेको स्थानीयबासीहरु बताउछन् । गाई, भैंसी सहित अन्य बस्तुभाउलाई कुडोमा ढिके नुन हालेर नै दिइने भएकाले पनि किसानहरु बढी जसो ढिके नुन नै खरिद गर्ने गरेको केआइसिंह गाउँपालिका–५ का स्थानीयबासी जहरसिंह खवासले बताउनुभयो । ‘गाउँघरमा बस्तुभाउका लागि बढी जसो ढिके नुन नै प्रयोग गरिन्छ, त्यही नुन मानिसले पनि प्रयोग गर्छन्’, उहाँले भन्नुभयो, ‘यहाँका स्थानीयले वर्षभरिको लागि भटमास र बेथेसँग नुन साटेर जम्मा गरेर राखेका हुन्छन् ।
’ जिल्लामा आयोडिनयुक्त नुनको प्रयोग बढाउन विभिन्न कार्यक्रम गरिए पनि यहाँका गाउँ घरका स्थानीयले खासै आयोडिनयुक्त नुनको प्रयोग नगर्ने गरेको जिल्ला अस्पताल डोटीका अध्यक्ष यज्ञराज जोशीले बताउनुभयो । गाउँमा आयोडिनयुक्त नुन प्रयोग गराउन जनचेतनामूलक कार्यक्रम गरे पनि कसैले त्यसको प्रयोगमा ध्यान नदिएको उहाँको भनाइ छ । ‘आयोडिनयुक्त नुनका फाइदाबारे सिकायौँ तर कसैले पनि खासै आयोडिनयुक्त नुन प्रयोग गरेनन्’, उहाँले भन्नुभयो।
उज्यालो अनलाइनबाट
Discussion about this post