बाँके कार्तिक १७ गते।
बाँकेको खजुरा गाउँपालिकामा रहेको खजुरा स्वास्थ्य केन्द्रलाई १५ शैयाको अस्पतालकारुपमा विकास गरिने भएको छ । त्यसका लागि गाउँपालिकाले सोमवारदेखि जग्गा सर्वेक्षणको काम सुरु गरेको पालिका अध्यक्ष किष्मत कुमार कक्षपतिले जानकारी दिनुभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १५ शैय्याको अस्पताल निर्माण गरिने विभिन्न स्थानीय तह र स्तरोन्नती हुने १ सय २२ वटा अस्पताल टुंगो लगाउनेक्रममा बाँकेको खजुरा स्वास्थ्य केन्द्र पनि परेको हो ।
स्थानीय तह र स्वास्थ्य संस्थाको टुंगो लगाएसँगै मन्त्रालयले ती सबै अस्पतालका लागि बजेट पनि अख्तियारी गरिसकेको छ । अर्थ मन्त्रालयले बजेट पठाउनका लागि स्वीकृती दिइएसँगै खजुराले १८ करोड ६ लाख ८२ हजार रुपैयाँ पाएको छ । आवाससहित भवन निर्माणको काम गर्ने गरी तयारी सुरु गरिएको अध्यक्ष कक्षपतिले बताउनुभयो ।
उहाँले डेढ बर्षभित्रै काम सम्पन्न गरेर सेवा दिने गरी मंसिर १५ गते शिलन्यास कार्यक्रमको तयारी गरिएको पनि बताउनुभयो । पहिलो चरणमा विभिन्न स्थानीय तहका १ सय २२ वटा अस्पताल छनोट गरेर ती अस्पताललाई १५ शैय्याका अस्पतालमा स्तरोन्नती गर्ने काम अगाडि बढाइएको स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाका तथ्यांक अधिकृत सुर्यबहादुर खड्काले जानकारी दिनुभयो ।
यसअघि मन्त्रालयले १५ शैय्याका अस्पताल बनाउनका लागि विभिन्न स्थानीयत तहका अस्पतालहरुलाई सूचीकृत गरेको थियो । अस्पताल सूचीकृत गरेपछि त्यसको सम्भाव्यता अध्ययन गर्न भवन विभागलाई जिम्मेवारी दिइएको थियो ।
Discussion about this post