रुकुम पश्चिम मंसिर १३ गते।
आठबीसकोट नगरपालिकामा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । शुक्रबार साँझ भएको दुर्घटनामा आठबीसकोट नगरपालिका ८ का कलिभान नेपाली, ४८ वर्षीय आइते चनारा, ५१ वर्षीय गोरे नेपाली र ६६ वर्षीय सार्के नेपालीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा वडा नं. ८ कै ५८ वर्षीय लालबहादुर नेपाली गम्भीर घाइते भएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिनुभयो । नेपालीको शरीरका विभिन्न अङ्गमा चोट उहाँले बताउनुभयो । उहाँलाई उपचारको लागि आठबीसकोट नगर अस्पताल लगिएको छ ।
आठबीसकोट नगरपालिका वडा नं. ८ को दाजेबाट १०/१२ जना जन्ती बोकेर वडा नं. १० को घारीखोला फर्किरहेको रा.१ ज ५८९ नम्बरको जीप दाजेमा दुर्घटना भएको हो ।
जीप चालक वडा नं. ९ का डिल्लीबहादुर नेपाली फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ । जीप सडकबाट झन्डै १ सय मिटर तल खसेको प्रहरीले बताएको छ ।
Discussion about this post