सुर्खेत मंसिर २३ गते ।
कर्णाली प्रदेशमा ४९ जना नयाँ कुष्ठरोगी पत्ता लागेका छन्। साइनिङ अस्पताल, आइएनएफ नेपाल सुर्खेतका अनुसार ४९ नयाँ कुष्ठरोगी पत्ता लागेका हुन् । आर्थिक वर्ष २०७६(७७ मा कर्णाली प्रदेशका विभिन्न जिल्लामा गरी ४९ जना कुष्ठरोगका बिरामी पत्ता लागेको अस्पतालका व्यवस्थापक मङ्गल थारूले बताउनुभयो ।
उहाँका अनुसार नयाँ भेटिएका कुष्ठरोगीमा सबैभन्दा धेरै सुर्खेतका १४ जना रहेका छन् भने जाजरकोट १३, दैलेख नौ, कालीकोट छ, सल्यान दुई, जुम्ला एक र अन्य जिल्लाका चारजना छन्।नयाँ कुष्ठरोगका बिरामीमध्ये १५–५९ वर्ष उमेर समूहका ३९ जना, ६० वर्ष नाघेका छ र एकदेखि १४ वर्ष उमेर समूहका चारजना छन् । उनीहरु अधिकांशको शरीरमा घाउ भेटिन्छ।व्यवस्थापक थारूले कुष्ठरोगको निदानबारे प्रचारप्रसार तथा रोगी पत्ता लगाउन ती स्थानहरुमा घुम्ती शिविर जस्ता कार्यक्रमको विस्तार आवश्यक रहेको बताउनुभयो ।
कोरोना महामारीका कारण यस वर्ष रोग जाँच गर्ने बिरामीको सङ्ख्या ह्वात्तै घटेको उहाँको भनाइ थियो।कर्णालीका सुर्खेत, दैलेख, जाजरकोट र कालीकोटसहित कुष्ठरोगका बिरामीको सङ्ख्याका आधारमा नेपालका १६ जिल्ला जोखिममा रहेको व्यवस्थापक थारूले बताउनुभयो ।यो रोगको लक्षण देखापरेमा तुरुन्त स्वास्थ्य कार्यकर्तालाई देखाई बेलैमा नियमित उपचार गराउन सकेमा र नियमित औषधि सेवन गरेमा कुष्ठरोग पूर्णरुपले निको भएर अपाङ्गता हुनबाट बच्न सकिने अस्पतालले जनाएको छ।
Discussion about this post