काठमाडौं मंसिर २५ गते ।
सरकारले दुई वर्षअघि आतङ्ककारी समूह घोषणा गरेको नेत्र विक्रम चन्द विप्लव समूहले कालिकोटमा समानान्तर सरकार गठन गरेको छ। कालिकोटका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले आफूलाई पनि त्यस्तै सूचना आएपनि आधिकारिक रुपमा पुष्टि हुन बाँकी रहेको बताए। ‘ म यहाँ प्रमुख जिल्ला अधिकारी भएर आएको एक साता मात्र भयो। धेरै कुरा बुझ्न बाँकी छ।
विप्लवको पछिल्लो गतिविधिबारे सूचना पाएको छु तर आधिकारिकरुपमा पुष्टि भएको भने छैन’, आचार्यले देशसञ्चारसँग टेलिफोन सम्पर्कमा भने। यसअघि चन्द समूहले मंगलबार मोरङको मिक्लाजुङ गाउँपालिकामा एक प्रधानाध्यापकको हत्या गरेको थियो। गाउँपालिकाको एक नम्बर वडामा पर्ने रमितेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको शव यातना दिएर मारिएको अवस्थामा फेला परेको थियो।
विप्लव समूहको हेडक्वार्टरले त्यसको जिम्मा लिँदै सुराकी गरेको आरोपमा घटना गराएको उल्लेख गरेको छ। विप्लव समूहले ब्यक्ति हत्या गरी जिम्मा लिएको यो पहिलो घटना हो। सरकारले विप्लव समूहलाई २०७५ साल फागुन २८ गते आतङ्ककारी समूह घोषणा गर्दै उसका गतिविधिमा प्रतिबन्ध लगाएको थियो। ललितपुरको नख्खुस्थित एनसेलको कार्यालयअगाडि उसले गराएको शक्तिशाली विस्फोटमा एक जनाको मृत्यु भएलगत्तै सरकारले उक्त निर्णय लिएको थियो।
राजधानीका केही स्थानमा भएको शृंखलाबद्ध विस्फोटमा केहीले ज्यान गुमाएका थिए। सुरक्षा निकायले त्यतिबेला विप्लव समूहले विस्फोटको तयारी गर्नेक्रममा दुर्घटनाबश विस्फोट भएको बताएका थिए।
Discussion about this post