बाँके पुस ३ गते ।
भारतबाट अवैधरुपमा भित्र्याएका ६ वटा राँगा बाँके प्रहरीले पक्राउ गरेको छ । भारतको बाबागंजबाट नेपालगन्ज भित्र्याइएका ती राँगा नेपालगन्ज २१ विर्ताबाट पक्राउ गरिएको वडा प्रहरी कार्यालयका इन्चार्ज डिल्ली खड्काले जानकारी दिनुभयो ।
त्यहाँबाट सस्तो मूल्यमा राँगा नेपाल ल्याएर तस्करहरुले बढी मूल्यमा विक्री गर्ने गरेका छन् । ती राँगा मासुको लागि यहाँ खपत हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । नाकाबाट सशस्त्र प्रहरीको सेटिंगमा भित्रिएका ती अवैध राँगा नेपाल प्रहरीले पक्राउ गर्न सफल भएको हो । पक्राउ परेका राँगाको मूल्य १ लाख २० हजार बराबर रहेको प्रहरीले बताएको छ । उक्त राँगा थप कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ ।
सुपरपावर पनि बरामद
प्रहरीले भन्सार छलेर भित्र्याएको ३ बोरा सुपरपावर अर्थात सुर्ति बरामद गरेको छ । नेपालगन्जको औद्योगिक क्षेत्र नजिकबाट आटो रिक्सामा राखेर ल्याइएको कारकान्दो चोक नजिक बसमा चढाउने क्रममा तीन बोरा सुपर पावर बरामद गरिएको प्रहरीले जनाएको छ । उक्त सूर्तिको मूल्य ३० हजार बराबर रहेको प्रहरीको भनाइ छ । एउटा बोराको १० हजार मूल्य पर्ने प्रहरीले जनाएको छ । बरामद गरिएको सूर्ति भन्सार कार्यालयमा पठाइएको छ ।
Discussion about this post