बाँके पुस २२ गते ।
यस वर्ष हिउँदयाममा पानी नपर्दा विभिन्न बालीनालीको उत्पादन घट्ने चिन्ता बढेकाे छ । प्रायः कात्तिक/मङ्सिरमा एक/दुई पटक पानी पर्ने गरेको भए पनि यो वर्ष मनसुन सकिएपछि पानी नपरेको मौसमविद् वरुण पौडेलले बताएका छन् ।
साेमबार (हिजो) सुदुरपश्चिम र कर्णालीका केही ठाउँमा सामान्य पानी परेको भए पनि अरू ठाउँमा तीन महिनादेखि पानी नपरेको माैसमविद् पाैडेलले बताएका छन् ।
पानी नपर्दा तोरीको उत्पादन घटेको तथा पहाडी र हिमाली क्षेत्रमा गहुँ, फापरलगायतका बालीमा सुख्खा लागेको किसानहरूले बताएका छन् । अब पनि पानी नपरे पहाडी तथा हिमाली क्षेत्रका हिउँदे बाली उत्पादन घट्ने उनीहरूको भनाइ छ ।
तीन महिना पानी नपर्दा धेरै खडेरी लागेको भन्न नमिले पनि केही बालीहरूमा उत्पादन घट्ने कृषि विभागका वरिष्ठ कृषि अर्थ विज्ञ डाक्टर महादेवप्रसाद पौडेलले बताए। आकाशे पानीको भरमा खेती गर्नेहरूको हिउँदे बालीलाई कात्तिक/मङ्सिरमा पानी पर्दा उपयुक्त हुने भए पनि यो वर्ष पानी नपरेको उनले बताएका छन् ।
यसबेलासम्म पानी परेमा धेरै नोक्सान नहुने भए पनि अब केही समय पानी नपरेमा पहाडी तथा हिमाली क्षेत्रको गहुँ, फापर तथा आलु बालीमा समेत असर देखिने पौडेलले बताए।
अहिले कायम रहेको पश्चिमी वायुको प्रभावले पानी पार्ने आशा गरेको भए पनि पानी नपर्दा निराश बनाएको किसानहरूले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने सम्भावना रहेको बताए पनि सुदूरपश्चिम र कर्णालीका केही ठाउँबाहेक अरू ठाउँमा पानी परेको छैन । पश्चिमी वायु भाेलि (बिहीबार) देखी कमजोर बन्दै जाने विभागले जनाएको छ ।
Discussion about this post