हुम्ला माघ २ गते ।
हिउँले बाटो रोकिएपछि हुम्लाको उत्तरी नाम्खा गाउँपालिका पाँच महिनाका लागि बन्द भएको छ । केहीदिन अगाडिको हिमपातले लिमी प्रवेश गर्ने बाटोमा रहेको चार हजार ६ सय मिटर अग्लो नारा लेक र पाँच हजार मिटर अग्लो न्यालु लेकको बाटो बन्द भएको छ ।
हिमपातले बाटो बन्द हुँदा लिमी उपत्यका बन्द भएको वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिनुभयो । यी दुवै बाटो अब आउँदो जेठ महिनामा मात्रै खुल्ने छ ।
दुवै नाकामा चारदेखि पाँच फिटसम्म हिउँ जम्ने भएकाले लिमी जाने बाटो बन्द भएका हुन् । लिमी उपत्यकाका साथै हिल्सा नाका पनि बन्द भएको छ । ६ महिनाका लागि दैनिक उपभोग्यदेखि आवश्यक सामान तयारी अवस्थामा राखिने भए पनि यस वर्ष कोरोनाको कारणले त्यो पनि हुन पाएन । यस्तै, हिमपातका कारण नेपाल टेलिकमको टावरमा समस्या आएपछि लिमी सञ्चारबिहीन भएको छ ।
Discussion about this post