बाँके माघ ७ गते ।
भूमिसुधार तथा मालपोत कार्यालय बाँकेमा ढिलासुस्ती र अनियमितता भएको गुनासो आउन थालेपछि कार्यालयको सेवालाई सहज र सरल बनाउन प्रयास सुरु गरेको छ । केही समय अगाडि सेवाग्राहीहरुको सहजताको लागि नागरिक सहायता कक्ष सञ्चालनमा ल्याएको भूमिसुधार तथा मालपोत कार्यालयले टोकन प्रणालीबाट सेवा सञ्चालन गरेको छ ।
कार्यालयबाट नागरिकलाई दिइने सेवा प्रभावकारी बनाउने उद्देश्यले टोकन प्रणालीबाट सेवा प्रदान गर्न टोकन प्रणाली सुरु गरिएको हो । मालपोतमा हुने समस्याबारे अनलाइन खोजखबरले समाचार नै प्रकाशन गरेको थियो । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले नागरिकले कार्यालयमा आएर अलमलमा पर्ने अवस्थाको अन्त्य गर्दै सरल र सहज रुपमा पालैपालो सेवाग्राहीले चाहे अनुसारको फाँटबाट सेवा प्रदान गर्न टोकन प्रणालीको सरुवात गरिएको बताउनुभयो ।
प्रजिअ कुरुम्वाङले नागरिकको सेवा पाउने अधिकारमा बिचौलियाको हाबी बढ्दो रहेकाले अब यस प्रणालीले त्यसको अन्त्य हुने बताउनुभयो। उहाँले मालपोतमा हुने भ्रष्टचार अन्त्य आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । मालपोतका विचौलिया र कर्मचारीहरुमाथि निगरानी बढाइएको पनि बताउनुभयो । मालपोतपछि अव आफ्नो ध्यान यातायात कार्यालयममा हुने ढिला सुस्ती र भ्रष्टचार नियन्त्रणमा केन्द्रीत हुने उहाँको भनाइ छ ।
Discussion about this post