बाँके माघ १८ गते ।
कोरोनाको कहर विस्तारै कम हुँदै गएको छ । भारतमा पनि कोरोनाका विरामी घटेका छन् । नेपालमा पनि सामान्य बन्दै गएपछि सरकारले १६ माघमा भारत र चीन सँग जोडिएका नाका खोल्ने निर्णय गरेको छ । तर, सरकारको अपुरो निर्णयले स्थानीय प्रशासनलाई नाका खोल्न सकस बनाएको छ ।
सरकारको अस्पष्ट निर्णयले नाका खोल्ने विषयमा स्थानीय प्रशासन अलमलमा परेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए । सरकारले नयाँ प्रजातिको कोरोना भाइरसको रिपोर्ट हेरेर मात्र नेपाल प्रवेश गर्न दिनु भन्ने निर्देशन सहितको पत्र पठाएपछि नाका सुचारु गर्न नसकेको प्रजिअ कुरुम्बाङको भनाई छ । नेपालगन्ज नाकाबाट यसअघि नै पैदल आउजाउ खोलिएको थियो ।
नाका खुल्ला गर्नु भन्ने सरकारको परिपत्र आए पनि के–कसरी खोल्ने विषयमा अन्योल कायमै रहेको बताए । ‘नाका खोल्नु भन्ने निर्देशन त आएको छ, तर कसरी खोल्ने भन्ने विषयमा निर्णय हुन नसक्दा अभैmँ अन्योल कायमै छ,’ उनले भने । नेपालगन्ज नाकाबाट मालवाहक बाहेक लामो तथा छोटो दूरीका गाडी र मोटरसाइकल ओहोरदोहोर गर्न दिइएको छैन । सरकारले नाका खोल्न परिपत्र गरे पनि पहिलेको भन्दा झनै जटिलता थपेको उनको भनाई छ ।
‘सरकारले नाका खोल्न त भन्यो, तर नयाँ प्रजातिको कोरोनाको नेगेटिभ रिपोर्ट भएकालाई मात्र प्रवेश गर्न दिनु भनेको छ । यो झनै असम्भव छ । बरु यो भन्दा पहिले नै सहज थियो,’ उनले भने । उनले नाकामा रहेको हेल्थ डेस्कलाई थप प्रभावकारी बनाएर स्वास्थ्य जाँच गरिने बताए । जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रको बैठक बसालेर नाका खोल्ने विषयमा निर्णय गर्ने जानकारी दिए ।
नाकामा सहज आउजाउका लागि के गर्न सकिन्छ ? भन्ने राय लिएर मात्र खोल्ने योजना छ,’ प्रजिअ कुरुम्बाङले भने । उनले भारतबाट नेपाल आउने व्यक्तिको स्वास्थ्य परीक्षण गरेर मात्र मुलुक प्रवेश गर्न दिइने बताए । उनले नाका सञ्चालनमा ल्याउन भारतीय सशस्त्र सुरक्षा बल सँग समन्वय गरेर नाकामा आउजाउ सहज बनाइने बताए । ‘अहिले नाकामा चहलपहल बढेको छ ।
मानिस ओहोरदोहोर गरिरहेका छन् तर सवारी साधनलाई निषेध गरिएको छ,’ प्रजिअ कुरुम्बाङले भने ।सरकारले औपचारीक रुपमा नाका खोल्ने निर्णय गरे पनि नेपालगन्ज नाका पूर्णरुपमा खुल्न नसकेको इलाका प्रहरी कार्यालय, जमुनाहका इन्चार्ज सई बिष्णु गिरिले बताए । उनले नाका खुलेको जानकारी पाएपछि नेपालगन्ज नाकामा चहल पहल बढेको बताए ।
‘सरकारले नाका खोल्ने निर्णय गरेदेखि नेपालगन्ज नाकामा ओहोरदोहोर गर्नेको चाप बढेको छ । आउजाउमा कडाई गर्दा हामीसँग बादविवाद गर्छन्,’ सई गिरिले भने, नाका खोल्ने निर्णय भएपछि झनै गाह्रो भएको छ । के–कसरी खोल्ने अझैँ अन्योल छ,’ उनले भने ।
Discussion about this post