दाङ माघ २९ गते ।
घोराही उपमहानगरपालिका ५, भैसापथ्रा निवासी २२ वर्षीय देवेन्द्र वलीलाई खोजिदिन घर परिवारले आग्रह गरेको छ। १४ दिनदेखि सम्पर्कविहीन भएका वलीको खोजी गरिदिन उनका पिता दोर्णबहादुर वलीले आग्रह गरेका हुन्। बुधवार घोराहीमा पत्रकार सम्मेलन गरी बेपत्ता छोराको खोजी गरिदिन उनले प्रहरी, मानवअधिकारकर्मी, सञ्चारकर्मी, कलेज प्रशासन लगायतलाई अनुरोध गरेका छन्।
देवेन्द्र घोराहीमा रहेको राप्ती शिक्षा क्याम्पसमा पढ्न माघ १५ गते गएकोमा हालसम्म सम्पर्कमा नआएको भन्दै उनले खोजी गरिदिन आग्रह गरेका हुन्। ‘बीएड प्रथम वर्षमा अध्ययनरत छोरा कोठाबाट कलेज जान्छु भनेर निस्किएको थियो, तर १४ दिन बितिसक्दा पनि उ घर फर्किएन, अहिलेसम्म कसैको सम्पर्कमा आएको छैन्,’ दोर्णबहादुरले भने, ‘हामीले विभिन्न ठाउँमा खोजी गरिसक्यौं। तर, उ भेटिँदैन। कलेजबाट पनि चित्तबुझ्दो जवाफ आउँदैन।
’उनले कलेजबाट विद्यार्थी हराएको ३ दिन बितिसक्दा समेत घरपरिवारलाई सम्पर्क नगर्नु र साथीले पुलिस केस नगरौं भन्नुले आफूहरूलाई घटनाप्रति आशंका उत्पन्न भएको समेत बताए। ‘कलेज पढ्न गएको छोराको झोला कलेजमै छ, तर उसको पत्तै छैन,’ उनले भने, ‘कलेजले घरपरिवारलाई विद्यार्थी हराएको जानकारी गराउँदैन रु यो कलेजको कस्तो कार्य हो रु’ उनले पढ्न गएको विद्यार्थीले कक्षामा झोला राखेको अवस्थामा हराउँदा पनि कलेजले खोजी कार्यमा बेवास्ता गरिरहेको बताए।
‘तपाईंको छोरा हराएका छन् भनी रेडियोबाट फोन आयो, त्यसपछि मात्रै हामीले थाहा पायौँ। तर, कलेजले खबर नै गरेन। हामीले छोरा हराएको खबर पाएपछि कलेजसँगै जिल्ला प्रहरी कार्यालयलाई पनि जानकारी गरायौँ। तर, कलेजले खोजी कार्यमा ध्यान दिँदैन,’ उनले भने। साथै, गहिराइमा पुगेर घटनाबारे अनुसन्धान गरिदिन उनले प्रहरीलाई आग्रह गरेका छन्।
प्रहरीले हराइरहेका वलीको खोजीकार्य भैरहेको जनाएको छ। घटनाबारे जानकारी पाएपछि घटनाको अनुसन्धानसँगै हराइरहेका व्यक्तिको खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको हो। वली घोराहीमा रहेको रेडियो स्वर्गद्वारीमा समेत कार्यरत थिए।
Discussion about this post